NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ऐतिहासिक ठाउँ, संरचना र वस्तुको संरक्षणबाट काठमाडौँको इतिहास जीवन्त रहन्छ – मेयर शाक्य 

काठमाडौं । आजदेखि हारतीमाता (अजिमा द्यः) देवता घरको पुननिर्माण थालिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २५ श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेर पुननिर्माणको काम शुरुवात गरेका हुन् । पुननिर्माणका लागि महानगरले १ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसमा शान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिले उपभोक्ताकातर्फबाट ५ प्रतिशत रकम थप गरेर पुननिर्माण गर्नेछ ।  शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले, काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताए । ‘काठमाडौँ प्राचीन सांस्कृतिक र ऐतिहासिक सहर हो । यसको पहिचानलाई दिगो बनाइ राख्न, सहरमा भएका स्मारकहरुलाई यथावत राख्नुपर्छ । त्यसैले हामीले जीवन्त सांस्कृतिक सहरको पहिचान जोगाउन समुदाय, पुजारी र गुठीयारहरुसँग सहकार्य गरिरहेका छौँ,’ हारती माता देवघर पुननिर्माणको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘मन्दिरका काठहरु मक्काएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र पुजारीहरुसँगको सहकार्यमा पुननिर्माण थालेका हौँ ।’ समितिका पदाधिकारीकाअनुसार मन्दिर करीब तीन सय बर्ष पुरानो हो । यसको पुननिर्माण आजभन्दा करीव एक सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख पाइन्छ । १९९० सालको भूकम्पको धक्का व्यहारेको मन्दिरलाई २०७२ सालको भूकम्पले कमजोर बनाएको थियो ।  शिलान्यास अवसरमा वडा २५ का अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य, कार्यपालिका सदस्य रमिताकमल स्थापितसहित जनप्रतिनिधि र संरक्षण समितिका पदाधिकारी सहभागी थिए ।