NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

महोत्तरीमा कोरोना रोकथामको तयारी शून्य

महोत्तरी । महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन् ।  कोरोना सङ्क्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको जिल्लामा भारत प्रवेश गर्ने १३ नाका रहेका छन् भने  ३८ किलोमिटर खुला सिमाना रहेको छ । सीमा नाकामा आवतजावत अव्यवस्थित हुँदा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिँदै गएको छ । सङ्क्रमितलाई नाकामा छुट्टै राख्ने व्यवस्था नहुँदा उनीहरू बस चढेर सिधैँ आ–आफ्ना गन्तव्यतर्फ लाग्ने गरेका छन् ।  जिल्लामा गतवर्ष कोरोनाबाट ९१ जनाको मृत्यु भएको थियो भने २० हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका थिए । गतवर्ष जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाले समयमै कोरोना रोकथामको प्रयास नगर्दा धेरै मानवीय क्षति भएको थियो । जलेश्वर नगरपालिका–१ का रमन चौधरी नाकामा हालसम्म ‘होल्डिङ सेन्टर’ नबन्दा समस्या भएको बताउछन् ।  यस्तै जलेश्वर नगरपालिका–२ का शिवचन्द्र चौधरी भारतसँग जोडिएको भिठामोड, मटिहानी, सम्सी, रघुनाथपुरलगायत नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मास्क लगाए÷नलगाएको मात्र हेर्ने गरेको बताउछन् । ‘दैनिक सयौं व्यक्ति ओहोरदोहोर गर्ने गरेका छन्, नाकामा भद्रगोल छ’, उनले भने । भीडभाडमा कोही पनि मास्क नलगाइकन खुलेआम हिँडडुल गरिरहँदा स्थानीय तहले उनीहरूलाई लक्षित गर्दै सूचनासमेत जारी गरेका छैनन् । पछिल्लो समय गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन् । नियमित औषधिकै भरमा उनीहरू घरमै बसिरहेको पाइएको छ । जिल्लाका १५ स्थानीय तहले गतवर्ष नै आइसोलेशन निर्माण गरे पनि यसवर्षको कोरोना लहरमा हालसम्म कसैले सञ्चालन नगर्दा सङ्क्रमित कहाँ बस्ने अन्योल छ । जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालन गर्दै आउनुभएका स्वास्थ्यकर्मी मोहम्मद इजाजुद्दिनका अनुसार अहिले सयौँको सङ्ख्यामा भारतीय पर्यटक खोप कार्डका आधारमा नेपाल भित्रिने गरेका छन् । नेपालीको हकमा भने सोधपुछ र लामो समय भारतमा बसेर आएको खण्डमा खोपकार्ड भए पनि एन्टिजेन परीक्षण गर्ने गरिएको छ । कोरोना पोजेटिभ नतिजा आएका नागरिक पनि सोझै घर जान थालेका छन् । उनीहरूलाई राख्न ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छैन ।  जिल्लाका स्थानीय तहलाई आइसोलेशन सेन्टर सञ्चालन गर्न र नाकाबाट आउनेलाई जाँच गरेर मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।