NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
एमसिसी विवाद

प्रचण्ड र नारायणकाजीबीच झगडा, गिरिराजमणिको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई वामदेवकै बाटोमा गए आफूले छेक्न नसक्ने टिप्पणी गरेका छन् ।

आइतबार व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसिसी अनुमोदन भएपछि नेतृत्वप्रति रुष्ट रहेका नारायणकाजीले समाजिक सञ्जाल फेसबुकमार्फत सम्झौता अनुमोदनलाई कालो दिन भएको टिप्पणी गरेका थिए ।

सोमबार एमसिसी अनुमोदन सम्बन्धमा पार्टीको आधिकारी धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले नारायणकाजीमाथि कटाक्ष गरेका हुन् । ‘एमसिसीको व्याख्यात्मक टिप्पणीप्रति नारायणकाजी श्रेष्ठ कमरेडले असहमति राख्नुभएको थियो । मैले असहमति राख्न पाइन्छ तर बाहिर लान पाइँदैन भनेको थिएँ । तर उहाँले बाहिर लानुभएछ’, सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘उहाँलाई लागेको होला एमसिसीको विरोध गरेपछि सबै जनता आफैसँग आउँछन् भन्ने लागेको होला, त्यस्तो हुँदैन ।’

तर प्रचण्डको उक्त भनाइप्रति नेता गिरिराजमणि पोखरेलले कडा आपत्ति जनाएका छन् । नेपालवाचसँग संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले भने– ‘उहाँको गलत निर्णयको नारायणकाजीलगायत हामी पाँच जनाले साथ दिएनौं । कृष्णबहादुर महराजी संसद् बैठकमै भाग लिनुभएन । विमति हुँदा–हुँदै निर्णय गर्नु विल्कुल ठीक थिएन । तपाईंहरू सुक्ष्म ढंगले बुझ्नुहोस् धेरै ठूलो असन्तुष्टि छ । जुनसकै बेला बिस्फोट हुन सक्छ । यो केन्द्रमा मात्रै होइन देशव्यापी छ ।’

पत्रकार सम्मेलनमा नारायणकाजीलाई के भनेका थिए प्रचण्डले ?

नारायणकाजी श्रेष्ठ कमरेडले बैठकमा एमसिसीको विषयमा असहमति राख्नुभयो । कुनै पनि निर्णय एकमत हुनुपर्छ भन्ने छैन । मैले त्यतिबेला तपाईंको विचार राख्नोस्, त्यसलाई सम्मान गरिन्छ भने । अझ केन्द्रीय कमिटीको बैठक आउँदै छ, त्यसमा व्यवस्थित रूपमा राख्नोस् केही आपत्ति हुँदैन । म सम्मान नै गर्छु भनेको थिएँ ।

मैले पनि अस्तिसम्म नयाँ विकल्पमा स्पष्ट नहुँदासम्म समस्या हुन्छ भनेको हो । तर अहिले म छ्याँङ्ग भएको छु । मलाई त चित्त बुझेको छ । म खुशी छु । उहाँलाई चित्त बुझेको छैन भने पार्टीभित्र राख्नोस् बाहिर चैं नलैजानोस् भनेको थिएँ । तर उहाँ बाहिर जानुभयो ।

उहाँलाई बाहिर गएपछि जनता सबै म तिर केन्द्रीत हुन्छ भन्ने लाग्यो होला । उहाँले त्यसो नगर्नु राम्रो हुन्थ्यो । अझै पनि केन्द्रीय कमिटीमा आफ्नो विचार राख्नोस भनेको हो । एमसिसीको विरोधन गर्ने वित्तिकै सबै जनता ह्वारैं आउने भए, विचरा हाम्रा प्रेम सुवाल सबै गद्दार भनेका छन् । मुर्दावाद गर्नुभएको छ । जनता पूरै उतै जानुपर्ने, त्यस्तो हुँदैन ।

उदारणका लागि महाकाली सन्धिमा राष्ट्रघात भयो भनेर विचरा वामदेवले तत्कालीन एमालेका आधा केन्द्रीय कमिटीका सदस्य लिएर पार्टी विभाजन गरेका थिए । भोट आउने बेलामा जिरो, एउटा भोट पनि आएन । त्यसैले कोही पनि ‘सेन्टिमेन्ट’ लिएर पछि दर्गुनुपर्ने आवश्यक छैन । कसैलाई वामदेवकै बाटोमा जान मन छ भने कसले छेक्न सक्छ र ?

एमसिसी अनुमोदनपछि नारायणकाजीले लेखेको टिप्पणी यस्तो छ :

अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्ति एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।

संसद् बैठक बस्नुअघि प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्यख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै नारायणकाजीलगायत पाँच जनाले आपत्ति जनाएका थिए ।