NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

चुनावी तालमेलबारे के छ कांग्रेसको तयारी ?

काठमाडौं । सत्तारुढ दलबीचको सहमतिमा संसद्बाट एमसिसी पास भएपछि यही गठबन्धन आगामी चुनावसम्मै जान्छ कि जाँदैन भन्नेमा बहस सुरू हुन थालेको छ । गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी चुनाव तालमेलको पक्षमा छन् । यी तीनवटै दल पछिल्लोपटक विभाजनको पीडाबाट गुज्रिएका छन् । यसैले ठूला दल कांग्रेससँग मिलेर चुनाव लड्दा आफूहरूलाई फाइदा हुने पक्षमा छन् ।

यही सत्ता गठबन्धनले नै चुनाव गराउने हुँदा चुनावी तालमेल गर्नुपर्ने विषय पनि उठेको छ । एमसिसी पारित भइसकेपछि झन् मिलेर जाने वातावरण बनेको विषयमा सत्ता सहयात्री दलहरूले नेपाली कांग्रेसमाथि दबाव बढाइरहेका छन् । तर यो विषयले सहमति भइसकेको छैन । बिहीबार सत्ता गठबन्धनको बैठकमा एमसिसी पास भएको विषयमा खुशी प्रकट गर्ने कार्यक्रम थियो । तर सत्ता गठबन्धनलाई चुनावसम्मै लाने र तालमेल पनि गर्ने विषयमा कुराकानीको सुरुवात भएको छ । स्थानीय तहको चुनाव आगामी ३० वैशाखमा हुँदैछ ।

बैठकमा सहभागी भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एमसिसीकेन्द्रित छलफलमा चुनावी तयारीसम्मका कुराकानी भएको जानकारी दिए ।

‘सबैको सहयोगमा एमसिसी पास भयो । अब चुनावसम्मै मिलेर जानुपर्छ भन्नेमा कुराकानीको सुरुवात भएको छ’ सिटौलाले नेपालवाचसँग भने, ‘आगामी स्थानीय तह र अन्य तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनभित्रै तालमेलको कुरा उठेको छ । तर एउटा टुंगो लागिसकेको अवस्था छैन । पार्टीभित्र पनि छलफल गरेपछि एउटा टुंगोमा पुग्न सकिन्छ ।’

कांग्रेस नेता प्रकाशमान सिंहले धुलिखेल पुगेर बिहीबार कांग्रेस एक्लै चुनाव लड्न तयार रहेको बताए । तर स्थानीय आवश्यकताका आधारमा तालमेल पनि गर्नुपर्ने अवस्था आउनसक्ने पनि बताए । उनले पनि चुनावी तालमेलको कुरालाई नकारेका छैनन् ।

सत्ता गठबन्धनको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई चुनावसम्मै लाने गरी सहमति भएको दाबी गरे । सत्ता गठबन्धन चुनावसम्म पुग्ने भए पछि चुनावमा कसरी अगाडि बढ्ने भन्ने आन्तरिक छलफलपछि मात्रै टुंगोमा पुग्ने जानकारी उनले दिए ।

तर सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्रै भने गठबन्धनका विषयमा फरकफरक मत छ । संस्थापनसहितका नेता पार्टीले जित्ने गरी धेरै ठाउँमा गठबन्धन गरेर जानुपर्ने पक्षमा छन् । तर, डा. शेखर कोइराला पक्ष भने कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने मत अघि सारिरहेका छन् । स्थानीय तह, प्रदेश र संघीय चुनाव नै कांग्रेस जस्तो बलियो पार्टीले एक्लै लड्नुपर्ने मत उनीहरूको छ । नेकपा विभाजनपछि एमाले पनि विभाजन भएकोले कांग्रेसलाई एक्लै चुनाव लड्न कुनै कठिनाइ नहुने पक्षमा उनीहरू छन् ।

कांग्रेस नेता गुरु घिमिरेले अब चुनावी गठबन्धनको औचित्य नै नभएको बताए । ‘पार्टीले के निर्णय लिन्छ त्यो भोलिको कुरा हो । तर अब चुनावी गठबन्धनको औचित्य नै छैन । वडा र पालिका तहमा स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा दलहरूले तालमेल गर्न सक्छन्’ घिमिरे भन्छन्, ‘यसमा बन्देज लगाउनु हुँदैन । कांग्रेस कमजोर भएको ठाउँमा गर्न सक्छन् । कतै माओवादी, कतै एमालेसँग त तराई मधेसमा जसपा, लोसपासँग पनि हुन सक्छ । तर केन्द्रबाट तालमेलको औपचारिक निर्णय गर्नुहुँदैन । पार्टीमा तालमेल गर्नु हुन्न भन्नेमा प्रचण्ड बहुमत छ ।’

तर, अघिल्लो चुनावमा पराजित भएका नेताहरू तल्लोदेखि नै तालमेल गर्न सक्दा संघीय चुनाव जितिने पक्षमा आवाज उठाइरहेका छन् । एमालेलाई पराजित गर्न मिलेर चुनाव लड्नेबारे नेता रामचन्द्र पौडेलले पटकपटक बोलिसकेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले धुलिखेल पुगेर बिहीबार कांग्रेस एक्लै चुनाव लड्न तयार रहेको बताए । तर स्थानीय आवश्यकताका आधारमा तालमेल पनि गर्नुपर्ने अवस्था आउनसक्ने पनि बताए । उनले पनि चुनावी तालमेलको कुरालाई नकारेका छैनन् ।

‘कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ संघीय निर्वाचन क्षेत्र कार्यसमिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति, ६ हजार ७ सय ४३ वडा कार्यसमितिको भ्यु प्वाइन्ट लिएर पार्टी एउटा डेमोक्रेटिक तवरले एक्सरसाइज गरेर के गर्दा राम्रो हुन्छ,’ नेता सिंहले भने, ‘पार्टीको हित हुने, संविधान जोगाउनको लागि, संघीयतालाई संस्थागत गर्नका लागि, विकास निर्माणका कार्य अगाडि बढाउनका लागि र सुशासनलाई सर्वोपरी हितमा राखेर कदम अगाडि बढाउँछ ।’

कांग्रेसमा संस्थापन देउवा पक्षका नेताहरू एमसिसी पास भएको विषयलाई सत्ता गठबन्धनको भविष्य र चुनावी तालमेलसम्म जोड्न नहुने पक्षमा छन् । स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा तालमेल पनि गर्न सकिने गरी उनीहरूले सुझाव दिइरहेका छन् ।

स्थानीयभन्दा पनि संघीय चुनावमा मुख्य गरी तराईमा मधेसकेन्द्रित दलसँग तालमेल गर्दा उल्टो घाटा बेहोर्नुपरेको बुझाइ कांग्रेसमा छ । तराई–मधेस केन्द्रित पार्टीका सिनियर नेतालाई जिताउन कांग्रेसले उम्मेदवारी नदिए पनि आफूहरूलाई सहयोग नमिलेकोले तालमेल अघि जिम्मेवार भएर निर्णय लिनुपर्ने दबाब कांग्रेसलाई छ ।

संस्थापनले मुख खोलिसकेको छैन । प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसीको गठबन्धन चुनावी तालमेलसँग नजोडिएको भन्दै पार्टीले उपयुक्त समयमा निर्णय लिने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष