NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

बागमतीमा कहिले बग्ला सङ्लो पानी

काठमाडौं । ‘आहा, त्यो बेला कस्तो कञ्चन थियो बागमती। पौडी खेल्दा त कम्ता आनन्द आउँदैनथ्यो।’

गौशालाकी डा. माला खरेल यसरी आफू बालक छँदाको बागमती नदीको स्मरण गर्दा आनन्दानुभूति गर्छिन्। तर, अहिलेको अवस्थाले भावुक बनाइहाल्छ। ‘म बागमतीको छेउमै जन्मिएर हुर्केकी हुँ। अञ्जुलीले धित मर्ने गरी बागमतीको स्वच्छ पानी पिउँथ्यौं। अहिलेका पुस्ताले खोलामा पौडी खेल्न र नुहाउन पाएका छैनन्। नदी प्रदूषित भयो।’

पुरानै स्वरूपको बागमती हेर्न तीव्र इच्छा छ। जसकारण उनी बागमती सफाइ अभियन्ता भएर काम गरिरहेकी छन्।

काठमाडौं उपत्यकाको मध्यभाग भएर बागमती बग्छ। जसमा विष्णुमती, रुद्रमती, हनुमन्ते, टुकुचा (इच्छुमती) लगायत खोला मिसिन्छन्। तर, हिजोआज पानीभन्दा बढी ढल बग्छ। अर्बौं बजेट खर्चिंदा पनि निर्मल पानी देख्न पाइएको छैन। बागमती सभ्यता जोगाउन सरकारले काम थालेको २८ वर्ष बित्यो। तर, नदी सङ्लो, स्वच्छ हुन सकेको छैन।

बागमतीको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्रको बागद्वार हो। जहाँ नदी सफा छ। तर, जति दक्षिण आयो त्यति फोहोर र दुर्गन्धित छ। बढ्दो जनसंख्या, अनियन्त्रित सहरीकरण, अव्यवस्थित ढल र फोहोरमैलाको जञ्जालले झन्डै तीन दशकयता नदी प्रदूषित छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको प्रयोगशालाकी माइक्रोबायोलोजिस्ट अञ्जिता राजवंशी सुन्दरीजलबाट गुहेश्वरीसम्म प्रदूषणको मात्रा कम रहेको बताउँछिन्। तर, तिलगंगाबाट अघि बढेसँगै प्रदूषण अत्यधिक छ। ‘माथिल्लो भागमा ढल व्यवस्थापन गरिएको छ। तलतिर छैन। त्यसैले प्रदूषणको मात्रा बढी छ’, माइक्रोबायोलोजिस्ट राजवंशी भन्छिन्, ‘पानी प्रदूषणले माछा, भ्यागुताजस्ता जलचर बाँच्न सकिरहेका छैनन्।’

बागमतीमा मिसिने सहायक तथा उपसहायक नदीमा ढल प्रशोधनको काम भइरहेको छ। तर, गति सुस्त छ। समितिका सूचना अधिकारी एवं इन्जिनियर कमल अर्यालका अनुसार कोड्कू दोभान, सल्लाघारी, धोबीघाट, गोकर्ण र टुकुचा किनारमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। नदीलाई ढलमुक्त गर्न, किनारमा रहेका धार्मिक, पौराणिक स्थलहरूको संरक्षण, सम्बर्द्धन, मर्मतसम्भार गर्न, किनारलाई हराभरा बनाउन करिडोर निर्माण भइरहेको सूचना अधिकारी अर्याल बताउँछन्। उनका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि समितिलाई ३ अर्ब ७२ करोड बजेट छुट्याएको छ। चालू आवको बजेट ३ अर्ब ४४ करोड छ।

सरकारले २०५१ चैत २८ गते पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो। कार्यक्षेत्रमा व्यापकता ल्याउन २०५२ मंसिर ६ गते अधिकारसम्पन्न बागमती क्षेत्र ढल निर्माण/सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति बनाइयो। २०६५ जेठ २६ मा नाम फेर्दै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति राखियो। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष