NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

टेलिभिजन छोडेर राजनीतिमा आएपछि कुन दलबाट कहाँ उम्मेदवार बन्दैछन् रवि लामिछाने ?

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले औपचारिक रुपमा टेलिभिजन दुनियाँबाट अलग्गिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आजबाट टेलिभिजनकर्म छोडेर राजनीतिमा प्रवेश गरेको बताएका छन् ।

‘संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरें।अब म आफ्नो आवाजलाई टिभिबाट संसदमा पुर्याउन चाहन्छु।’ उनले भनेका छन् ‘म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकी असार ७ गते राष्ट्रिय सभागृह मा भेटौं।’ याे सन्देशकाे भिडियाे जारी गरे पनि केहीबेरमा उनकाे फेसबुकबाट डिलिट गरिएकाे छ ।

आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनतासँग अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उनले बताए । हालसम्म आफूले कुन पार्टीबाट राजनीतिक यात्रा सुरु गर्ने भन्नेबारे उनले सार्वजनिक गरिसकेका छैन ।

असार ७ दिउँसो १ बजे राष्ट्रिय सभागृहमा उनले आफ्नो आगामी राजनीतिक यात्राबारे विस्तृत उत्तर दिने बताएका छन् । रविले यस अघिदेखि नै आगामी संघीय निर्वाचन काठमाडौंबाट लड्नेबारे परामर्श गर्दै आएका थिए । तर कुन पार्टी वा स्वतन्त्रबाट उम्मेदवार बन्ने भन्ने उनले घोषणा गरेका छैनन् ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङको पक्षमा लहर देखिएपछि आगामी संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्रको उम्मेदवारी दिनेको लहर देखिन थालेको छ ।

तर चर्चित पत्रकार रवि काठमाडौंको कुन क्षेत्रबाट उठ्छन् भन्ने विषयलाई उत्तिकै चासोपूर्वक हेरिएको छ । काठमाडौं १, ३, ४ वा ५ मध्येबाटै उनले उम्मेदवारी घोषणा गर्ने सम्भावना बढी रहेको बताइन्छ ।

विभिन्न संचारमाध्यमलाई अन्तर्वार्ता दिंदै लामिछानेले उम्मेदवार बन्न कांग्रेस, एमालेसहितका दलबाटसमेत अफर आएको बताएका छन् । तर उनले कुनै दल वा स्वतन्त्र उम्मेदवारीबारे खुलेर केही बताइसकेका छैनन् ।

काठमाडौं १ कांग्रेस नेता प्रकाशमान सिंहले निर्वाचन जितेको क्षेत्र हो । जहाँ अघिल्लोपटक विवेकशील साझाका रविन्द्र मिश्र थोरै मतले पराजित हुन पुगेका थिए ।

काठमाडौं ४ कांग्रेसका गगन थापाले चुनाव जितेको क्षेत्र हो । ५ बाट एमालेका ईश्वर पोखरेलले चुनाव जितेका थिए । यसपटक धेरैले स्वतन्त्र उम्मेदवारले काठमाडौं ५ बाट उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । तर चर्चित लामिछानेले कुन दल वा नेतालाई टक्कर दिएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्छन् भन्ने विषयमा अब चासो र उत्साहपूर्वक हेरिन थालिएको छ ।

यस अघि नै चर्चित उम्मेदवार रहेका ठाउँबाट भन्दा लो प्रोफाइल उम्मेदवार रहेको क्षेत्रबाट उम्मेदवारी दिनेबारे पनि लामिछाने छलफलमा रहेको बुझिएको छ । यस्तोमा काठमाडौंको कोर एरियाभन्दा बाहिर रहेका चुनाव क्षेत्रबाट लड्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।

काठमाडौंबाट चुनाव लड्न चर्चामा रहेका ८ अनुहारमा को–को छन् ?

स्वतन्त्रहरू मिलेर चुनाव उठेर परिवर्तनको पक्षमा माहोल सिर्जना गर्न सकिए राम्रो संख्यामा समानुपातिक मत बटुल्ने सपनासमेत लामिछानेले देखेका छन् । पहिले कमल थापाकाे राप्रपाले जस्तै केही लाेकप्रिय मुद्दा अघि सारेर समानुपातिक मत तान्ने रणनीति लामिछानेकाे छ ।  यसैले सक्रिय टेलिभिजन पत्रकारिता छोडेर लामिछाने राजनीतिमा होमिएका हुन् । परम्परागत दलप्रति वितृष्णा कम नहुँदाकाे फाइदा  उठाउने दाउमा उनी छन् । देशभर पार्टीको पक्षमा माहोल बनाउन र समानुपातिक मत बटुल्न पार्टी घोषणा गरेर जानुपर्ने हुन्छ ।

काठमाडौंमा बालेन शाह मेयरमा निर्वाचित भएपछि स्वतन्त्र व्यक्तिहरूले दल घोषणा गरेरसमेत अघि बढ्ने तयारी गरेको बुझिएको छ ।

यस्तोमा लामिछाने पनि मिसिएर अगाडि बढ्न सम्भावना उत्तिकै छ । मूलधारका दलबाट आफू अनुकुलको प्रस्ताव नआएसम्म अलग हिसाबले नै अघि बढ्ने तयारीमा लामिछाने छन् ।

संघ र प्रदेशको चुनाव आगामी कात्तिकको अन्तिममा वा मंसिरको पहिलो साता गर्ने तयारी सरकारको छ ।

राजनीति गर्ने भन्दै रवि लामिछानेले छोडे ग्यालेक्सी टिभी

रवि लामिछानेकाे भिडियो पटक-पटक किन हट्याे फेसबुकबाट ?