NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

नेपालगञ्जको बागेश्वरी मन्दिरमा महाआरतीको तयारी

नेपालगञ्ज । धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरी मन्दिरमा महाआरती गर्ने तयारी भएको छ । बागेश्वरी मन्दिरमा आउने भारतीय भक्तजनलाई धार्मिक पर्यटकका रूपमा स्वागत गर्न र उनीहरूलाई नेपालगञ्जमा केही दिन टिकाइराख्न महाआरती गर्ने तयारी भएको बाँके पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार पशुपतिनाथ मन्दिरसँगको भगिनीसम्बन्ध रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरीमा भारतबाट बर्सेनि १०औँं हजारको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । धार्मिक पर्यटकीय दृष्टिले निकै महत्व मानिँदै आएको महाआरतीका लागि पर्यटन व्यवसायीले लामो समयदेखि पहल गर्दै आएका थिए ।

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । महाआरतीका लागि आवश्यक पर्ने बजेट उपमहानगरपालिकाले उपलब्ध गराउने गरी सुरुवातमा तीन लाख बजेट सुनिश्चित गरेको उनको भनाइ छ ।

धार्मिक रूपमा दानपुण्यको स्रोतबाट दैनिक महाआरतीको योजना गरिए पनि उपमहानगरपालिकाको आर्थिक सहयोगबाट प्रारम्भिक रूपमा मासिक कम्तीमा दुई पटक उचित दिन हेरेर महाआरती गर्ने तयारी भएको नगर प्रमुख विष्टले जानकारी दिए । महाआरतीले बागेश्वरी मन्दिरलाई थप आकर्षक र शक्ति सम्पन्न बनाउने उनको विश्वास छ ।

बागेश्वरीका मूल महन्त चन्द्रनाथ योगी, बागेश्वरी गुठीसहित, सरोकारवालासँग बृहत छलफल गरेर सम्भवत महाअष्टमीबाट महाआरतीको शुभारम्भ गरिने तयारी भएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स बाँके शाखाका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष