NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पूर्वमहानिर्देशकको काठमाडौं उपत्यकाको ६५ आना जग्गा जफत

एक विभागका पूर्वमहानिर्देशकको काठमाडौं उपत्यकामा रहेको ६५ आना जग्गा जफत भएको छ ।

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ । सर्वाेच्च अदालतले फैसला गरेको १० वर्षपछि उनको जग्गालगायतको स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कटुन्जेस्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो । जग्गाको हालको बजारमूल्य करिब १६ करोड रुपैयाँ छ । ‘सर्वाेच्चको फैसलाअनुसार जग्गाको लालपुर्जा सरकारको नाममा आएको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने, ‘अन्य ठाउँको जग्गालगायत सम्पत्ति जफत गरेर ल्याउने प्रक्रियामा छौँ ।’ जफत भएको जग्गामा विभागले कसुरजन्य सम्पत्ति राख्न स्टोर बनाउने तयारी गरेको छ ।

सर्वाेच्च अदालतले १२ भदौ ०६९ मा खनाललाई दोषी ठहर गरी एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । फैसला भएको १० वर्षपछि बल्ल केही सम्पत्ति जफत भएको हो ।

सर्वोच्चले खनालका छोराको नाममा काभ्रेको श्रीखण्डपुरमा रहेको जग्गा पनि जफत हुने फैसला गरेको थियो जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । छोरीछोरीको नाममा टाउन डेभलपर्स कम्पनीको नाममा ५१ हजार कित्ता सेयरबराबरको रकम भने नेपाल सरकारको राजस्व खातामा जम्मा भइसकेको छ । त्यस्तै, १२ वटा बैंक खातामा रहेको १८ लाख ९६ हजार नगद पनि जफतको फैसला भएको थियो । सो रकम जफत भए–नभएको विषयमा विभागले जिल्ला अदालत काठमाडौैंलाई पत्राचार गरेको छ ।

अदालतले त्यतिवेलाको मूल्यअनुसार दुई लाख ४२ हजार सात सय ८६ रुपैयाँबराबरको सुनका गहनासमेत जफतको फैसला गरेको थियो । त्यस्तै, खनालले लामा कन्स्ट्रक्सनलाई ३२ लाख रुपैयाँ सापटी दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेको थियो । यो रकमको पनि स्रोत नखुलेको भन्दै लामा कन्स्ट्रक्सनबाट सो रकम जफत गर्न लागिएको छ । सो कन्स्ट्रक्सन कांग्रेसका प्रदेश सांसद बहादुरसिंह लामाको कम्पनी हो ।

खनाल १७ कात्तिक ०५६ देखि २५ पुस ०५८ सम्म विभागको महानिर्देशक थिए । इन्जिनियर रहेका उनले त्यसअघि विभिन्न सडक आयोजनामा प्रमुखका रूपमा काम गरे । त्यही क्रममा अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा आयोगले उनको घरमा छापा हानी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।

८ कात्तिक ०६९ मा अख्तियारले उनकै घरमै छापा हानी सम्पत्ति छानबिन थालेको थियो । छापा हान्दा उनको घरबाट तीन लाख ७६ हजार चार सय ७० नगद र सुनका गहना बरामद गरेको थियो । त्यसवेला आयोगले निकै शक्तिशाली व्यक्तिको घरमा छापा हानी छानबिन गरेर मुद्दा दायर गरेको थियो जुन आयोगको इतिहासमै सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

आयोगले तीन करोड ९७ लाख ४० हजार सात रुपैयाँबराबरको सम्पत्ति जफतको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले २० जेठ ०६२ मा खनाललाई दोषी ठहर गरी एक वर्ष कैद र एक करोड २० लाख २३ हजार जरिवाना तथा स्रोत नुखुलेको सम्पत्ति जफतको फैसला सुनाएको थियो । त्यसविरुद्ध खनाल पुनरावलोकनमा गएकाले सर्वाेच्चले पनि दोषी ठहर गरेको हो । आयोगले खनाल परिवारको नक्साल, कुपन्डोलमा रहेको घरसमेत जफतको माग गरेकोमा भक्तपुर र काभ्रेको जग्गा मात्र जफतको फैसला भएको हो । तर, फैसला कार्यान्वयन प्रक्रिया सुस्त हुन लागेको छ । नयाँ पत्रिकामा खबर छ ।