NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पासो बन्दै प्रविधि !

सबैभन्दा असुरक्षित फेसबुक, पहिलो निशानामा महिला

काठमाडौं । राजविराजकी कमला राई (नाम परिवर्तन) लामो समयदेखि सामाजिक सञ्जाल टिकटकमा सक्रिय छिन् । उनलाई टिकटक बनाउन र भिडियो हाल्न धेरै रुचि छ । प्रविधिको देन टिकटक, जुन युवा पिढीमाझ लोकप्रिय छ, बाट बदनाम हुनुपर्ला भन्ने उनले सायदै सोचेकी थिइन् । तर जब आफ्नो तस्बिरसँग छेडछाड गरेर कसैले तथानाम लेख्दै गाली गरेको फेसबुकमार्फत देखिन्, उनी छाँगाबाट खसेजस्तै भइन् ।

कसैको आपराधिक मानसिकताको शिकार बनेपछि त्यसविरुद्ध साइबर ब्यरो पुगेर आफूले उजुरी दिएको कमला बताउँछिन् ।

०००

खोटाङकी पूजा क्षेत्री (नाम परिवर्तन) रोजगारीको सिलसिलामा खाडी मुलुक थिइन् । त्यही एक पुरुषसँग उनको प्रेम बस्यो । देश एउटै भए पनि अलग–अलग सहरमा बस्ने उनीहरूले आफ्ना मनका भावना र एक्लोपना भुलाउन फेसबुकमार्फत कुरा गर्न थाले । ‘भर्चुअल’ माध्यमबाट उनीहरू यति नजिकिए कि श्रीमान्–श्रीमतीजस्तो सम्बन्ध हुन थाल्यो । विदेशमा टुसाएको प्रेमबाट रोमाञ्चित हुँदै छिट्टै बिहे गर्ने योजना बुनेर उनी नेपाल फर्किइन् ।

नेपाल आएपछि उही फेसबुकमार्फत उनले आफ्नो प्रेमीको अन्य महिलासँग सम्बन्ध रहेको चाल पाइन् । त्यसपछि सुरु भयो प्रविधि प्रयोग गरेर पूजामाथि एकतर्फी आक्रमण । ती महिला आफ्ना पुरुष साथीले पूजालाई नराम्रो दृष्टिले हेरुन् भन्ने चाहन्थिन् । त्यही कुण्ठा पोख्न उनले नक्कली फेसबुक बनाएर तथानाम गाली बेइज्जती गरिन् ।

अति भएपछि पूजा फेसबुकमार्फत आफ्नो चरित्र हत्या गर्ने महिलाविरुछ उजुरी बोकेर साइबर ब्युरो पुगिन् ।

०००

बाराकी अञ्जली गुप्ता (नाम परिवर्तन) को मोबाइलमा धमाधम पुरुषको फोन आउन थाल्यो । यसरी फोन सम्पर्क गर्ने हरेकले उनीसँग यौनजन्य कुरा गर्थे । एकाएक आउन थालेका यस्ता फोन कलले अचम्मित बनेकी उनले जब यसको सोधीखोजी थालिन्, तब उनको नाममा कसैले नक्कली फेसबुक खोलेर यौनकर्मीका रूपमा परिचित गराएको खुल्यो ।

नजिककाले दिएको सुझावका आधारमा उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् । अनुसन्धान अचम्मित बनाउने खालको थियो । किनकि, शंकाको भरमा यी सबै हर्कत उनका श्रीमान् आफैंले गरेका थिए ।

०००

प्रविधिले फड्को मारेसँगै अहिले सबैको हातहातमा मोबाइल र इन्टरनेटको पहुँच छ । यसले हरेक व्यक्तिको दैनिकीलाई सहज बनाएको छ । विगतमा असम्भव र जटिल ठानिएका काम अहिले इन्टरनेटको प्रयोगबाट सहजै गर्न सकिने भएको छ । तर यसले मानिसको जीवन जति सहज र छरितो बनाएको छ, उति नै दुरुह र कष्टपूर्णसमेत बनाउँदै लगेको छ । पछिल्लो समय आपराधिक घटनाको कारण प्रविधि बन्दै गइरहेको छ । प्रविधिको पहुँच हातहातमा पुगे पनि उचित प्रयोगसम्बन्धी ज्ञान अभावले अपराधजन्य घटना बढ्दै गएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी तथा प्रवक्ता पशुपति राय बताउँछन् ।

साइबर अपराधको डरलाग्दो ग्राफ

साइबर ब्युरोको पछिल्लो पाँच वर्षको तंथ्याकले यसको ग्राफ बढदै गएको देखाउँछ । ०७५/ ७६ देखि ०७९/०८० सम्म आउँदा यो संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । ०७५/ ०७६ मा ३५७ उजुरी ब्युरोमा दर्ता हुँदा २०७९/०८० मा यसको संख्या १२ भन्दा बढीले आकासिएर ४ हजार ३२६ पुगेको छ । प्रविधिको फड्कोसँगै अपराधको ग्राफ कसरी चुलिएको छ भनेर जान्न यही तथ्यांक पर्याप्त छ ।

ब्युरोको तथ्यांक अनुसार, आर्थिक वर्ष ०७५/७६ मा १९४ महिला, १० बालिका र १५३ जना पुरुष साइबर अपराधको सिकार भएका थिए । यो संख्या २०७८/२०७९ मा आउँदा अझ वृद्धि भएको देखिन्छ । २०७८/२०७९ मा साइबर अपराधको उजुरी लिएर २ हजार ३८९ महिला ६१ बालिका, २० बालक र १ हजार ८४० पुरुष आइपुगेको साइबर ब्युरोले जनाएको छ ।

सबैभन्दा पीडित महिला

साइबर ब्युरोको तंथ्याकले विगत पाँच वर्षमा सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमको प्रयोगबाट हुने अपराधमा करिब ९० प्रतिशत पीडित महिला भएको देखाउँछ । आर्थिक वर्ष ०७५/०७६ मा १९४ जना महिलाहरू उजुरी लिएर ब्युरो पुगेकामा २०७६/०७७ मा यसको संख्या बढेर एक हजार १५८ पुगेको थियो । २०७७/०७८ मा दुई हजार तीन, ०७८/०७९ मा दुई हजार ३८९ र २०७९/०८० मा दुई हजार २०६ पुगेको ब्युरोको तथ्यांक छ ।

असुरक्षित बन्दै सामाजिक सञ्जाल

चालु आर्थिक वर्षको २०७९/०८० को पहिलो ८ महिनामा (साउनदेखि फागुनसम्म) ब्युरोमा परेको तथ्यांकले सामाजिक सञ्जाल असुरक्षित बन्दै गएको पुष्टि गर्छ । ब्युरोमा ८ महिनामा सामाजिक सञ्जाल ( फेसबुक, टिकटक, ह्वाटस्याप, इमो, भाइबर, युट्युब, ट्वीटर, आदि) को दुरूपयोग गरी ४ हजार ८९१ साइबर अपराधका उजुरी परेको छ ।

दाहाल नेपालमा साइबर सुरक्षा कमजोर हुनुमा सरकारी संयन्त्र नै चुकेको बताउँछन् । अन्य देश डाटालाई लिएर गम्भीर भए पनि नेपालले यसलाई वेवास्ता गरेको उनले बताए ।

यसमा पनि सबैभन्दा बढी असुरक्षित फेसबुक रहेको देखिएको छ । तथ्यांक अनुसार, फेसबुक र म्यासेन्जरको दुरूपयोगबारे ३ हजार ७४९, यूट्युबबाट ३२, ह्वाट्सएपबाट १४४, भाइबरबाट ४, इमोबाट ११, ट्वीटरबाट १५ वटा उजुरी दर्ता भएको छ ।

त्यस्तै, इन्स्टग्रामबाट ३४३, दाता वेभसाइट हायकिङ्गबाट २६, टिकटकबाट ३३४, उजुरी साइबर ब्यूरोमा परेको छ । इमेलबाट ३३, बैंकिक र वित्तीय संस्थाबाट ११२ र ई–सेवाबाट भएको घटनाको उजुरी ८८ वटा परेका छन् ।

दुरूपयोग हुनेमा फेसबुक र म्यासेन्जर अग्रपंक्तिमा

सूचना र प्रविधिको विकाससँगै प्रविधिको दुरूपयोग गर्ने क्रमले पनि तीव्रता पाएको ब्युरोको तथ्यांकले देखाउँछ । इन्टरनेटको प्रयोग गरेर ठगी गर्ने, ह्याकिङ गर्ने, व्यक्तिगत सूचना खुलासा गर्नेलगायतको गतिविधिको लागि फेसबुक र म्यासेन्जर राम्रो स्रोत बनेको छ ।

चालु आ.व.को ८ महिनामा सबैभन्दा बढी फेसबुक र म्यासेन्जर दुरूपयोग भएको देखिएको छ । साइबर ब्युरोमा फागुनसम्म फेसबुक र म्यासेन्जर दुरूपयोसँग सम्बन्धित मात्रै ३ हजार ७४९ वटा उजुरी परेका छन् । प्रविधिको बढ्दो प्रयोग र तीव्र विकाससँगै मोबाइल र इन्टरनेटको प्रयोग व्यापक छ । जसकारण जोकोही पनि साइबर अपराधको दलदलमा फसेको ब्युरोको तथ्यांकले प्रष्टाउँछ ।

फेसबुक र म्यासेन्जरपछि दोस्रोमा इन्स्टाग्रामको प्रयोगले अपराध मौलाएको ब्युरोको तथ्यांक छ । गएको ८ महिनामा यसबाट पीडित हुनेको संख्या ३४३ छ । इन्स्टग्रामपछि टिकटकबाट भएको घटनाविरूद्ध ३३४ वटा उजुरी परेको छ ।

ब्युरोमा सबैभन्दा धेरै उजुरी लिएर आउनेमा २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू रहेको प्रवक्ता रायले जानकारी दिए ।

साइबर ब्युरोमा पर्ने उजुरीको अनुसन्धान र कारबाही ‘विद्युतीय कारोबार ऐन २०६३’ अन्तर्गत गर्नुपर्छ तर प्रविधिको तीव्र विकाससँगै बढेको नयाँ अपराधहरूलाई विद्यामान ऐनले सम्बोधन गर्दैन । अहिले प्रविधिको द्रूतगतिको विकासले नयाँ अपराध जन्माइरहेको छ । तर यस्ता घटनाहरू आएमा उही पुरानै ऐन जबरजस्ती चलाउनु परेको ब्युरोका इन्स्पेक्टर राजकुमार खड्कीले गुनासो गरे । ऐनले सबै किसिमका साइबर अपराध नसमेट्दा समस्या भएको उनको भनाइ छ ।

अपराध बढेको बढ्यै, छैन कानून

साइबर अपराधका घटना थेगिनसक्नुसँग बढेका छन् । पछिल्ला तथ्यांक केलाएर विश्लेषण गर्ने हो भने साइबर अपराध आगामी दिनमा झनै जटिल बन्ने देखिन्छ । साइबर अपराध यति धेरै मौलाउँदै गए पनि सम्बन्धी छुट्टै कानून अझै बन्न सकेको छैन । नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ कै प्रयोग हुँदै आएको छ । यही ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरूद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई ३ लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

विश्वभर इन्टरनेटको पहुँच तथा प्रविधिको विकासले आधुनिकीकरण द्रूतगतिमा बढ्दै गएको हुँदा नेपालको विद्युतीय अपराधसम्बन्धी ऐन पर्याप्त नभएको अधिवक्ता मनिष श्रेष्ठ बताउँछन् ।

साइबर ब्युरोमा पर्ने उजुरीको अनुसन्धान र कारबाही ‘विद्युतीय कारोबार ऐन २०६३’ अन्तर्गत गर्नुपर्छ तर प्रविधिको तीव्र विकाससँगै बढेको नयाँ अपराधहरूलाई विद्यामान ऐनले सम्बोधन गर्दैन । अहिले प्रविधिको द्रूतगतिको विकासले नयाँ अपराध जन्माइरहेको छ । तर यस्ता घटनाहरू आएमा उही पुरानै ऐन जबरजस्ती चलाउनु परेको ब्युरोका इन्स्पेक्टर राजकुमार खड्कीले गुनासो गरे । ऐनले सबै किसिमका साइबर अपराध नसमेट्दा समस्या भएको उनको भनाइ छ ।

‘विद्युतीय कारोबार ऐन, २०६३ को परिच्क्षेद ९ को दफा ४७ देखि ५६ सम्म टेकेर साइबर ब्युरो चलाउनु परेको छ’, उनले भने, ‘हामीले कानून खोजेको हो तर ऐनमा चल्नु परेको छ ।’

खड्गी २०६३ देखि ऐन परिमार्जन नहुनुमा राजनीतिक पाटोको कमजोरी औंल्याउँदै ब्युरोले कानुन बनाउन मिल्ने भए तुरुन्तै बनाउने तर्क गर्छन् । ब्युरोका एसपी पशुपति राय पनि यो ऐन पुरानो भएकाले यसले सबै अपराध नसमेट्ने स्वीकार्छन् ।

‘यो पुरानो ऐन हो । यसले सबै अपराध समेटदैन् । तर अहिलेसम्म यसैलाई टेकेर चलाइरहेका छौं,’ उनले भने । विश्वभर इन्टरनेटको पहुँच तथा प्रविधिको विकासले आधुनिकीकरण द्रूतगतिमा बढ्दै गएको हुँदा नेपालको विद्युतीय अपराधसम्बन्धी ऐन पर्याप्त नभएको अधिवक्ता मनिष श्रेष्ठ बताउँछन् ।

‘साइबरसम्बन्धी कानूनको आवश्यकता गोपनीयता रक्षाका लागि हो,’ उनले भने, ‘तर यसले नागरिकको गोपनीयता भंग गरेको छ । नागरिलाई मानसिक यातना दिएको छ ।’

उजुरी दिन काठमाडौं आउनुपर्ने बाध्यता

श्रेष्ठका अनुसार, हाल साइबर अपराधसम्बन्धी उजुरी दिने व्यवस्थासमेत सबैको पहुँचमा छैन । यसबारे ‘डेडिकेटेड’ संस्था राजधानीमा मात्रै हुँदा समस्या भएको छ ।

‘साइबरसम्बन्धी मुद्दा हेर्ने ब्युरो नेपालभर एउटा मात्रै छ । कसैलाई समस्या परेमा उजुरी दिन काठमाडौं नै आउनु पर्छ । यसलाई हेर्ने प्रभावकारी निकायको पनि अभाव छ,’ उनले भने ।

बढ्दो विद्युतीय अपराध नियन्त्रण गर्नका लागि पुरातन सोचका आधारमा नभएर वैज्ञानिक किसिमको कानूनको आवश्यक भएको उनले औंल्याए । ‘अहिले दिनानुदिन भइरहेको प्रविधिको पहुँच र विकासको आधारमा वैज्ञानिक परीक्षणद्वारा नागरिकलाई परेको समस्याहरूलाई सम्बोधन हुने किसिमको र प्रविधिको विकाक्रमसँगै सबै कुरा समेटने गरी कानून निर्माण गर्नुपर्छ,’ उनले भने ।

साइबर सुरक्षामा विश्वमै कमजोर नेपाल

विकसित देशहरूमा बैंक तथा क्रेडिट कार्डसम्बन्धी अपराध धेरै हुने गरेका छन् । नेपालमा सामाजिक सञ्जालबाट व्यक्तिको नाम तथा तस्बिर दुरूपयोग गरेर चरित्र हत्या गर्ने, सामाजिक सञ्जालमार्फत धम्की तथा डर देखाएर नगद माग गर्ने, नग्न तस्बिरमा व्यक्तिको अनुहार जोडेर इन्टरनेटमा राख्ने, संस्थाहरूको वेबसाइट ह्याक गर्ने, बैंकिक कारोबारको दुरूपयोग गरी पैसा असुल्ने तथा समाजमा विकृति फैलाउने अश्लील सामग्रीहरूको प्रसारण, प्रकाशन र वितरण गर्ने घटनाहरू धेरै हुने गरेका छन् ।

साइबर सुरक्षासम्बन्धी फर्म क्रिप्टोजेनका प्रमुख प्राविधिक अधिकृत निर्मल दाहाल नेपाल साइबर सुरक्षामा कमजोर रहेको बताउँछन् । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियू) ले पनि नेपाललाई साइबर सुरक्षामा कमजोर देशमा राखेको छ । आइटियूको ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४औँ स्थानमा छ ।

दाहाल नेपालमा साइबर सुरक्षा कमजोर हुनुमा सरकारी संयन्त्र नै चुकेको बताउँछन् । अन्य देश डाटालाई लिएर गम्भीर भए पनि नेपालले यसलाई वेवास्ता गरेको उनले बताए । अझ कानूनको अभावमा यो समस्याले झनै विकाराल रूप लिन सक्ने उनले बताए ।

‘सरकारले साइबर सुरक्षासम्बन्धी छुटै नीति, नियम तथा ऐन बनाउन आवश्यक छ,’ उनले भने । प्रविधिको विकास बढिरहँदा यसका लागि नियम कानून बनाउन आवश्यक भएको उनको तर्क छ ।

साइबर ब्युरोका एसपी राय साइबर अपराधका घटना कम गर्न व्यक्ति आफैं पनि सचेत हुनुपर्ने बताउँछन् । अहिले सामाजिक सञ्जालको पहुँचले व्यक्तिहरू चिनजान नभएकासँग पनि सहजै पुग्ने र कुरा गर्ने गर्छन् । यसले साइबर अपराधलाई थप बढेको उनी सुनाउँछन् ।

रायका अनुसार साइबर अपराधबाट बच्न चिनजान नभएको व्यक्तिसँग टाढा रहने तथा आफ्नो व्यक्तिगत विवरण अरूलाइ नदिने विषयमा सतर्क हुनुपर्छ । यसले पनि धेरै हदसम्म साइबर अपराधबाट बच्न सकिने उनको भनाइ छ ।

उनले नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी विभिन्न कार्यक्रममार्फत जनचेतना दिइरहेकोसमेत बताए । ‘प्रविधिको विकाससँगै नयाँ प्रविधि आउँदा यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा पनि सजग हुन पर्छ,’ उनले भने ।

सेलिब्रेटी नै निशानामा

साइबर अपराधको फन्दामा जानेमानेका सेलिब्रेटी पनि पर्ने गरेका छन् । सार्वजनिक जीवन र उनीहरूसम्मको पहुँच सहज हुँदा पनि यस्ता समस्याको सिकार बन्ने गरेका छन् ।

गत वर्ष फागुन २० मा युट्युब र अनलाइन पोर्टलबाट चरित्र हत्या भएको भन्दै अभिनेत्री रेखा थापाले साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन् । अभिनेत्री करिश्मा मानन्धर पनि सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको भन्दै गत माघ २५ मा ब्युरोमा पुगेकी थिइन् । त्यस्तै, गत चैत १० मा कलाकार कुञ्जना घिमिरेले फेसबुकमार्फत नग्न तस्बिर आउन थालेको भन्दै गुनासो गरेकी थिइन् । साइबर ब्युरोका एसपी रायका अनुसार कलाकारहरू चरित्र हत्या , नाम र तस्बिर दुरूपयोगको उजुरी लिएर ब्युरो पुग्ने गरेका छन् ।

सकारात्मक प्रयोग गरे फाइदै फाइदा

अहिले टिकटक र युट्युबमा रमाउनेको संख्या व्यापक छ । वृद्धदेखि केटाकेटीसम्मको मनोरञ्जनको मुख्य साधन नै प्रविधि बनेको छ । अझ भनौं, कतिपयले यसलाई मनोरञ्जन मात्र नभई आम्दानीको स्रोत पनि बनाएका छन् । सेलिब्रेटीदेखि आम व्यक्तिसम्म यसको माध्यमबाट आम्दानी गर्न चाहन्छन् । यसकै प्रयोगबाट चर्चा आर्जन गरी घरमा बसीबसी कैयौंले आम्दानी गरेका पनि छन् । टिकटकमा लाइभ बसेर होस् वा युट्युबमा भिडियो बनाएर, आम्दानी मात्र नभई व्यक्तिले परिचय र पहिचान पनि बनाएका छन् । टिकटक तथा युट्युबको सकारात्मक प्रयोग नाम र दाम दुवै कमाउने माध्यम बनेको छ भन्दा पनि फरक नपर्ला । टिकटकमा भाइरल भएर कलाकारितामा छिर्नेको पनि त्यत्तिकै जमात छ अहिले ।

यही जमातमा पर्छिन जनकपुरकी समृद्धि झा । उनी यतिबेला टिकटकमा चर्चित र सक्रिय छिन् । उनका टिकटकमा आठ लाख भन्दा बढी फलोअर्स छन् भने ४६ मिलियनभन्दा बढी लाइक छ । टिकटकबाट उनले राम्रै आम्दानी गर्छिन् ।

कोभिडको समयमा टिकटकमा सक्रिय रहेकी उनी टिकटक बनाउन थालेको एक वर्षपछि भने टिकटकमा भाइरल बनिन् । ‘सुरु सुरुमा टिकटक बनाउन लाज लाग्थ्यो अरूले कसरी बनाउँछन् होला भन्ने हुन्थ्यो,’ उनले भनिन् ‘ अहिले यसरी टिकटकमा रुचाउँदा खुसी लाग्छ । यसले थप प्रोत्साहनसमेत गरेको छ ।’

अहिले उनलाई टिकटकमा छाएको भरमै म्युजिक भिडियाको अफर आउँछ । उनले अहिलेसम्म १५ देखि २० वटा विज्ञापनसमेत गरिसकेकी छन् ।

प्रविधिको विकासले व्यक्तिलाई आफ्नो कला देखाउन सहायता गरेको उनी बताउँछिन् । टिकटक मनोरञ्जनको राम्रो पाटो भएको भए पनि यसले त्यति नै अपराधिक गतिविधि पनि बढाएको उनको बुझाइ छ । यसको सकारात्मक र नकारात्मक दुवै पाटो भएको हुँदा यसले राम्रो गर्नेलाई अवसर दिएको उनी सुनाउँछिन् ।