NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

आन्दोलनका कारण सुन तस्करीमा मुछिएका भन्सारका ३६ कर्मचारी जोगिए

काठमाडौं । हवाई कार्गाेमार्फत हुने सुन तस्करीमा भन्सार कर्मचारीको शंकास्पद भूमिका देखिए पनि मिलेमतो भने नदेखिएको प्रहरीले जनाएको छ । यद्यपी बारम्बार सुन तस्करी हुँदा पनि पत्ता नलगाउनुमा कर्मचारीलाई पनि मुद्दा चलाउनुपर्ने सिआइबीको अनुसन्धान प्रतिवेदन छ ।

बरामद भएको ६० किलो सुन तस्करीमा जोडिएका पाँच कर्मचारीलाई मुद्दा चलाउने निर्णय भए पनि तीन सय दुई किलो सुन तस्करी हुँदा भन्सार जाँचपासमा संलग्न अन्य ३६ जना कर्मचारीलाई अनुसन्धानमा ताने पनि उनीहरुले उन्मुक्ति पाएका छन् । उनीहरुलाई पनि प्रतिवादी बनाउनुपर्ने प्रहरीको निष्कर्ष रहे पनि दबाबका कारण उन्मुक्ति दिइएको छ । तीन सय ६२ केजीकै मागदाबी लिए पनि बरामद भएको ६० केजी सुन जाँचापाँसमा संलग्नलाई मात्र प्रतिवादी बनाउन सिफारिस गरिएको छ । अनुसन्धान प्रभावित पार्न कर्मचारीले आन्दोलन गरेका थिए । अनुसन्धानका नाममा प्रहरीले फसाउन खोजेको भन्दै गत आइतबारदेखि भन्सार कर्मचारीले सामूहिक राजीनामा दिनेदेखि भन्सार जाँचपास रोक्नेसम्मका चेतावनी दिएका थिए ।

दबाबकै भरमा कर्मचारीमाथिको मुद्दा प्रक्रिया सिआइबीले अन्तिम समयमा रोकेको छ । प्रहरीले सेटिङको प्रमाण नभेटे पनि पटक पटक सुन तस्करी हुँदा पनि भन्सार कर्मचारीले थाहा नपाउनुमा सन्देहपूर्ण छ । साथै पक्राउ परेका भन्सारका कर्मचारीहरू पुष्पा जोशी, कमल परियार र श्रीधर टन्डनलाई मुद्दा नचलाउन सिआइबीले राय दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले मुद्दा दायरको तयारी गरेको छ ।