NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कांग्रेस बैठक: शान्ति सुरक्षालाई लिएर सरकारसँग त्रसित छन् नेताहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्री समिति बैठक जारी छ ।

यहि असोज ४ गतेबाट पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

आजको बैठकमा पनि सदस्यहरुले धारणा राख्नेक्रम जारी छ । बैठकमा प्रायः सदस्यहरुले सरकारका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । केहि नेताहरुले शान्ति सुरक्षाको विषयलाई लिएर सरकारसँगै त्रसित हुन परिरहेको अभिव्यक्ति दिएका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरुले राम्रो प्रफमेन्स नगरेको बताए । उनले पार्टीबाट मन्त्री बनेकाहरुले राम्रो काम गरे भनेर आफुले भाषण गर्न नपाएको समेत गुनासो गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनमुखी काम गर्नका लागि आग्रह गर्न पनि सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए ।

‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुप¥यो,’ पौडेलले भने, ‘गठबन्धन जोगाउनुमात्र उपलब्धि होइन।’
उनले व्यापार–व्यावसायीहरु पलायन हुनु परेको र महंगीले आकाश छोएको पनि बताए ।

यस्तै, केन्द्रीय सदस्य राजीव ढुंगानाले सरकारको कामको समीक्षा गर्न आवश्यक रहेको बताए । भ्रष्टाचारका केही फाइल खोलिएपछि भ्रष्टाचार घटेको महसुस भएपनि शान्ति सुरक्षाको स्थिति ठीक नभएको उनको भनाई थियो ।

ढुंगानाले भने, ‘भ्रष्टाचारका एक–दुई फाइल खोलिए पनि नेपाली जनताले भ्रष्टाचार घटेको महशुस गरेका छैनन् । शान्ति सुरक्षाको स्थिति ठिक छैन ।’

उनले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथी भएको सांघातिक आक्रमणको विषयमा पनि बैठकमा कुरा राखे । ‘शान्ति सुरक्षाको स्थिति ठिक छैन् ।

हाम्रै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ,’ उनले भने, ‘ताप्लेजुङमा प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले नै गुण्डागर्दी गरेको छ। काठमाडौं चार वटा शव एकै ठाउँमा भेटिने घटना भएका छन् ।’

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले गृहमन्त्री नारायाण काजी श्रेष्ठ कांग्रेसका नेताहरूलाई छानीछानी दुःख दिने नियतले अगाडि बढेको आरोप लगाए ।

उनले कांग्रेसकै कारणले माओवादीको प्रधानमन्त्री र गृहमन्त्री भएको अवस्था पनि दिनदहाडै सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको उल्लेख गरे ।

कांग्रेस सरकारमा छ वा छैन भन्ने कार्यकर्ताले बुझ्न नसकिरहेको भन्दै उनले सरकारमा सम्मिलित नेताहरूको धारणा प्रष्ट पार्न आग्रह गरे ।

यस्तै अर्की केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले प्रधानमन्त्री र गृहमन्त्रीबाट नैै कांग्रेस कार्यकर्ता सुरक्षित नभएको बताइन् ।

‘प्रधानमन्त्री र गृहमन्त्री माओवादीका छन्, हाम्रा नेता तथा कार्यकर्ता सुरक्षित छैनन्,’ उनले भनिन्, ‘सहमहामन्त्रीमाथि र कोशीका सांसदमाथि आक्रमण भयो। तर बदमासी गर्नेलाई कडा कारबाही भएको छैन भन्ने सुनिएको छ ।’

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशप्रति जनतामा वितृष्णा छाएको बताए ।

स्थानीय सरकारलाई जनताले रुचाएपनि नयाँ संरचना प्रदेश सरकारमा आउँदा औचित्यमाथि प्रश्न खडा भएको उनको भनाई थियो ।

आफु प्रदेशको मुख्यमन्त्री भएपनि चाहेर पनि काम गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ ।