NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

छापामा आज : कसले के छापे ?

काठमाडौं । काठमाडौंबाट आज बुधबार प्रकाशित अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले फुटपाथमा हिँड्न प्रहरी प्रशासनले गरेको अवरोधलाई मुख्य समाचार बनाएका छन् भने कुनैले भ्रष्टाचार, वित्तपीडितको पीडालगायतमाथि नजर लगाएका छन् ।

कान्तिपुर दैनिकले बानेश्वरस्थित संघीय संसद् भवन आसपासका क्षेत्रमा सर्वसाधारणलाई हिँड्डुल गर्न प्रहरीले गरेको अवरोधबारे मुख्य समाचार बनाएको छ ।

लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह सोमबार संसद् परिसरमा प्रवेश गरेका थिए । यो घटनालगत्तै उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले मंगलबार सर्वसाधारणको हिँड्डुलमा अवरोध गरेको हो । पैदल यात्रुले सहज हिँड्डुल गर्न नसकुन भनेर संसद् भवन आसपासको क्षेत्रमा डोरी, फलामेजाली र कपडाले छेकबार नै लगाइएको छ ।

फुटपाथमा तारबार र डोरी लगाइएपछि विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला, बालबालिकालगायत आम नागरिक कालोपत्र सडकमा असुरक्षित यात्रा गर्न बाध्य भएको कान्तिपुरले लेखेको छ ।

राष्ट्रियसभा अध्यक्ष उम्मेदवारलाई लिएर सत्तागठबन्धनमा देखिएको अन्योलबारे पनि कान्तिपुरले समाचार बनाएको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने कांग्रेस–माओवादीको भद्र सहमतिमा राष्ट्रियसभामा ल्याइएको बताइन्छ । तर राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट भोट क्रस भएको घटनाले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष आफैंले राख्नुपर्ने मत तीव्र बनेका छन् । माओवादीको स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई नदिई आफैंले राख्नुपर्ने सुझाव अध्यक्षलाई दिएका छन् ।

‘राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबीले झस्कियो कांग्रेस’ शीर्षक  कान्तिपुर समाचार अनुसार, यस्तो प्रस्तावपछि कांग्रेस सशंकित बनेको छ । यद्यपि, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे पछि निर्णय लिने बताएका छन् ।

बाजुरामा पाँच महिनापछि चामल पुगेको खबरलाई कान्तिपुरले एंकर बनाएको छ । लामो समयपछि त्यहाँ चामल पुगेकाले सर्वसाधारणको भीड लागेको छ । चामल माग गर्दै उपभोक्ताको अत्यधिक भीड लागेपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको छ ।

नयाँ पत्रिका दैनिकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हवाला दिँदै भ्रष्टाचारको तौरतरिका फेरिएको निचोड निकालेको छ । भ्रष्टाचारको तौरतरिका परिवर्तन हुँदा अनुसन्धानसमेत प्रभावित भएको समाचारमा उल्लेख छ ।

समाचारअनुसार देशभित्र गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको तथा देशबाहिर हुने अवैध लेनदेनको छानबिनमा कानूनको अभाव रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुनासो गरेको छ ।

स्वर्गद्वारी गुठीका मोही किसान सातादेखि आन्दोलनरत रहेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । मोही अधिकारको माग गर्दै दाङका ८५० किसान संघर्षमा उत्रिएका हुन् । उनीहरूले ८ फागुनदेखि जिल्ला प्रशासन कार्यालय, दाङअगाडि प्रदर्शन गरिरहेका छन् । मंगलबार उनीहरूले खाली खुट्टा घोराहीमा प्रदर्शन गरे ।

अन्नपूर्ण पोस्ट् दैनिकले वित्त पीडितका कथा छापेको छ भने नागरिकले कामचोर ठेकेदार पोस्न खरिद ऐन संशोधन गर्न लागिएको भन्दै आलोचना गरेको छ ।