NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १५ गते

हुन्डीले फसाद पार्ला है !

के हो हुन्डी, विदेशबाट पैसा कसरी पठाउने ?

काठमाडाैं । वैदेशिक रोजगारीको सिलसिलामा लाखौँको संख्यामा नेपालीहरु विभिन्न मुलुकमा छन् । तिनै नेपालीहरुले विदेशमा पसिना बगाएर आर्जन गरेर पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान छ ।

तर विदेशमा कमाएको पैसा नेपालमा पठाउनका लागि औपाचारिक माध्यम हुँदाहुँदै अवैधानिक एवं अनौपचारिक माध्यम अपनाउने नेपालीहरुको संख्या पनि ठूलो रहेको छ । विदेश गएका कतिपय नेपालीहरुले रेमिट्यान्स पठाउनका लागि बैंक, रेमिट्यान्स कम्पनी, भुक्तानी प्रणाली कम्पनी जस्ता  औपाचारिक माध्यम हुँदाहुँदै हुन्डीजस्तो अवैधानिक माध्यमबाट पैसा पठाउने गरेको पाइन्छ ।

औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका ऐजेन्सीमार्फत स्वदेश वा विदेशमा पैसा पठाउने वा हिसाब मिलाउने कार्य नै हुन्डी हो । हुन्डीबाट पैसाँ पठाउँदा विदेशी मुद्रा नेपाल भित्रिदैन । दुवै देशका एजेन्टमार्फत पैसाको कारोबार सम्बन्धित व्यक्तिसँग हुने गर्छ । हुन्डीमार्फत आएको रकमले देशको अर्थतन्त्रमा नकारात्मक योगदान गर्छ। येस्ले राजस्व घटाउछ, कालो बज़ारीलाई प्रोत्साहन गर्छ र बैदेशिक ब्यापारको यथार्थ तस्बीर थाहा हुदैन।

नेपालमा हुन्डीमार्फत पैसा पठाउने कार्य गैरकाननुी हो । नेपालमा मात्रै नभएर विश्वमा नै यस्तो कारोबारलाई अवैधानिक मानिन्छ । हुन्डी अवैधानिक हुँदाहुँदै पनि धेरैले यसमार्फत पैसा पठाएको पाइन्छ ।

हुन्डीबाट पैसाको कारोबार गर्दा जोखिम हुने र प्रहरीले थाहा पाएमा कारबाहीसमेत हुने गरेको छ । नेपालको ऐन अनुसार हुण्डी कारोबारको रकम जफ़त हुनुको अलावा १ बर्षकों जेल सजाय पनि हुंछ।

नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा हुन्डी कारोबारमा संलग्न ३१ जनालाई विभिन्न प्रहरी कार्यालयबाट पक्राउ गरिएको छ । सो अवधिमा पक्राउ पर्नेहरुबाट ४ करोड ४३ लाख २१ हजार ७४० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । तीन आर्थिक वर्षको तथ्यांकअनुसार हुन्डी कारोबारमा संलग्न १०८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो तथ्यांक प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाहरुको मात्रै हो । भित्रभित्रै समूह बनाएर कारोबर गर्ने भएकाले यसको संख्या कति छन् भन्ने एकिन तथ्यांक कसैसँग छैन ।

औपाचारिक च्यानलभन्दा सजिलो, बैंक खाता, कुनै पनि कागजी प्रक्रिया नचाहिने भएकाले मानिसहरुले हुन्डीमार्फत विदेशबाट पैसा पठाउने गर्छन् । हुन्डीमा औपाचारिक च्यानलमा भन्दा कम शुल्क लाग्ने हुँदा मासिनहरु यसमा आकर्षित भएको सानिमा बैंकका रेमिट्यान्स विभाग प्रमुख निमेश श्रेष्ठ बताउछन् ।

हुन्डीमार्फत कारोबार गर्नु निकै जोखिमपूर्ण छ । आफूले विदेशमा दुःख गरेर कमाएको पैसा हुन्डीमार्फत पठाउँदा परिवारको हातसम्म पुग्छ भन्ने कुनै ग्यारेन्टी पनि हुँदैन । भोलि गएर आफ्नो पैसा परिवारको सदस्यले नपाएको अवस्थामा उजुरी गर्नसमेत समस्या हुने भएकाले यस्तो माध्यम जोखिमपूर्ण हुने श्रेष्ठ सुनाउँछन् ।

औपाचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा एक मात्रै नभएर अनेक फाइदा छन् । यसले एकातिर विदेशी मुद्रा सञ्चिती बढ्ने र अर्कोतर्फ देशको अर्थतन्त्रमा टेवा पुग्छ । यस्तै औपचारिक माध्यमबाट पैसाको कारोबार गर्दा आफ्नो पैसा सुरक्षित हुनुका साथै वैदेशिक रोजागरीमा रहेकाहरुले विभिन्न फाइदाहरु लिन सक्ने श्रेष्ठको भनाइ छ ।

औपाचारिक च्यानलको प्रयोग गरी पैसा पठाउँदा भोलि आवश्यक परेको खण्डमा आयस्रोत देखाउन सकिन्छ । देशको विकासको लागि र आफ्नो आर्थिक वृद्धिदरको लागि सबै नेपालीलाई वैधानिक च्यानलको प्रयोग गर्न उनको सुझाव छ ।