NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २१ गते
प्रोफाइल

बहसका गुरु

दोलखामा जन्मेका प्रदीप घिमिरेको ‘स्कुलिङ’ दोलखामै सुरु भयो । सशस्त्र द्वन्द्वको समय थियो त्यो, विद्यालय कम खुल्थे र बढी बन्द हुन्थे । दुई कक्षा अध्ययन गर्दा गर्दै देशको धुमिल राजनीतिक वातावरणले उनको शैक्षिक गन्तव्य नै मोडिदियो । उनी गाउँ छाडी काठमाडौं आएर अध्ययन गर्न थाले ।

कक्षा ११–१२ मा पढ्दै गर्दा उनले कतैबाट थाहा पाए, वक्तृत्वकलाबारे अभ्यास र प्रशिक्षण गर्ने ‘स्मार्ट क्लब’ कार्यक्रमबारे । वक्तृत्वकलामा सानैदेखि प्रदीपकाे रूचि थियाे । कक्षा ५–६ मा अध्यययन गर्दै उनी प्रतियाेगितामा भाग लिन्थे । प्रदीपले जब स्मार्ट क्लबको दैलो टेके, वक्तृत्वकलाले उनलाई झनै आकर्षित ग-यो । उनी हरेक जसाे स्मार्ट क्लब पुग्थे र केही न केही नयाँ कुरा सिकेर फर्कन्थे । स्मार्ट क्लबसँगको त्यही नजानिँदो आउजाउ र संसर्गले अन्ततः प्रदीपलाई कालान्तरमा बहसकाे प्रशिक्षक बनायो, जुन उनी आफैंले सायदै सोचेका थिए ।

अनि मोडियो गन्तव्य…

मानिसको जीवन सधैं योजनाबद्ध किसिमले अघि बढ्दैन, कहिलेकाहीँ संयोग र वातावरणले पनि डोहोरिन्छ । प्रदीपको जीवनमा पनि यस्तै भयो । वक्तृत्वकला सिक्दै गर्दा त्यो सिकाइले कहिले कता डोहो-याँथ्यो, कहिले कता । सिकाइले जताजता ढल्काउँथ्यो उतैतिर ढल्किए उनी।

वक्तित्वकला सिकाइको केही समयपछि उनी सामुन्ने अन्तराष्ट्रिय शैलीको वादविवाद प्रतियोगितामा भाग लिने अवसर आए । मनका अन्तस्करणमा  डर भन्दा पनि,  आत्मविश्वास र उत्सुकता जागृत भएको हुन्थ्यो । त्यसपछि त के चाहियो ? प्रदीप धारा प्रवाह आफ्ना तर्क प्रस्तुत गर्थे ।  ‘विद्यालयमा एक्ला–एक्लै वादविवादमा सहभागी गराइन्थ्यो । तर प्रतियोगितामा त ३–३ जनाको समूह बनाएर जानुपर्थ्यो ,’ प्रदीप वक्तृत्वकलासँगको प्रारम्भिक संगतको पत्र उप्काउन थाले, ‘यसमा सहभागी हुँदा अलिअलि डर, आत्मविश्वास र उत्सुकता लाग्थ्यो ।’

याे प्रतियोगितामा उनले  पहिलाे स्थान बनाउन त सकेनन्, तर नक आउट चरणसम्मकाे यात्रा भने तय गरे ।  यस्ता प्रतिस्पर्धाले आफ्नो गन्तव्य भने बदलिदिएको प्रदीप सगर्व सुनाउँछन् ।  विद्यालय शिक्षा सकेपछि मात्रै वक्तृत्वकलासँग संगत गर्न पाएका प्रदीपले स्वदेशी मात्रै होइन, विदेशी प्रतियोगीसँग पनि प्रतिस्पर्धा गरे ।

थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय ट्रेनिङ तथा टुर्नामेन्ट प्रतियोगिता त्यसमध्येको एक थियो । त्यहाँ एसियाका २० भन्दा बढी देशका प्रतियोगीसँग प्रतिस्पर्धा गरेका प्रदीपलाई त्यो प्रतियोगिता जीवनकै खास लाग्छ । विदेशी प्रतियोगीका बहस र आलोचनात्मक सोचको स्तर देखेर उनी खुब लोभिए । नेपालमा पनि डिबेट संस्कृति प्रवर्द्धन गर्नुपर्छ भन्ने प्रदीपको सोचको मुहान त्यही थियो ।

‘त्यहाँ गएर आएपछि उनीहरूको आलोचनात्मक सोचको स्तर देखेर मलाई नेपालमा पनि यस्तै कार्यक्रम चाहिने रहेछ भन्ने अनुभूति भयो,’ प्रदीपले अगाडि थपे, ‘यदि सानैबाट यस्तो कलाको विकास गर्ने हो भने यसले मानिसको व्यक्तित्वसँगै शिक्षाको पनि विकास हुन्छ ।’

थाइल्याण्डमा आयोजित प्रतियोगिताबाट डिबेटको संस्कृति प्रवर्द्धन गर्ने हुटहुटी बोकेर फर्केका उनले त्यसपछि नै हो, हरेक हप्ता बहसको अभ्यासमा समय खर्चिन थालेका । युवापुस्तालाई वादविवाद र बहसको महत्त्व बुझाउन प्रदीपले अग्रसरता लिए पनि त्यसका निम्ति उनीसँग पूर्वाधार चाहिन्थ्यो । जुन उनीसँग थिएन । उनी कहिले क्याफेमा झुल्कन्थे त कहिले विद्यालयका कक्षाकोठा मागेर वादविवादको घमासानमा तन्नेरीलाई उतार्थे ।

बहसको नसा लागेका प्रदीपले अव्यवस्थित ढंगले काम गरेको देखेर साथीहरूले सुझाउँथे, यसरी भएन, अब संस्था बनाउनु पर्छ । साथी र सहकर्मीको त्यही सल्लाह र सहकार्यको उपज थियो, सन् २०१३ मा जन्मिएको डिबेट नेटवर्क नेपाल (डिएनएन) ।

संस्था खोलेपछि अझै नयाँ केही गर्नुपर्छ भन्ने हुटहुटी प्रदीपमा व्याप्त थियो । उनी केही नयाँ गर्ने सोचमा अधीर हुन्थे अनि घोत्लन्थे । सन् २०१४ मा ‘तर्कशाला’ र ‘महाकुम्भ’  डिबेट कार्यक्रम आयोजना गर्ने सोच प्रदीपको घोत्लाइ र साथीहरूको हौसलाको त्यही परिणाम थियो । सन् २०१४ मा आयोजना गरिएका ‘महाकुम्भ’ र ‘तर्कशाला’  सन् २०१५ मा भएकाे महासंग्राम नामका डिबेट कार्यक्रमहरूले सकारात्मक चर्चा पायो । धेरैले फेरि-फेरि पनि आयोजना गर्न सुझाए ।

‘तर्कशालाकै तीनदेखि चार वटा राउण्ड गर्दागर्दै अहिले अंग्रेजी संस्करणको २५औं तर्कशाला पनि सकिइसकेकाे छ । नेपालीमा पनि यस्ता कार्यक्रम ५/६ वटा भएका छन्,’ प्रदीपले सुनाए ।

प्रदीपलाई बहसले आलोचनात्मक चेत विकासमा उल्लेखनीय भूमिका खेल्ने विश्वास लाग्छ । बहसले तर्क र अभिव्यक्ति दिन सिकाउने भएकाले यो अपरिहार्य हुने उनी सुनाउँछन् ।

‘यी कुराहरू पर्याप्त मात्रामा हाम्रो शिक्षाले सिकाउँथ्यो भने हामीजस्तो संस्था नै आउन पर्दैनथ्यो । हाम्रो शिक्षा प्रणालीले यस्ता बहसको काम गर्नुपर्छ र यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ,’ पाठ्यक्रम र शिक्षा प्रणालीको खोट औंल्याउँदै प्रदीप बहसतिर लम्किए, ‘अन्य देशमा हेर्ने हो भने डिबेट सिकाउने संस्थाले धेरै काम गर्नु नै पर्दैन । त्यहाँको विद्यालयकै शिक्षा प्रणालीले नै आलोचनात्मक सोचलाई प्रवर्द्धन गरेको छ ।’

हुन त, हाम्रा विद्यालयमा बहस नामका कार्यक्रम भइरहेका हुन्छन् । तर प्रदीप विद्यालयमा आयोजित यी वादविवादलाई वादविवाद मान्न तयार छैनन् । उनको बुुझाइमा वादविवादमा दुई पक्ष हुन्छन् । तर हाम्रो विद्यालयमा कुनै एक जनाले वादविवाद गरिरहेको छ भने उसले आफूलाई आए जतिको सबै पक्षको कुरा राखेर हिँडिदिने गलत अभ्यास रहेको प्रदीप औंल्याउँछन् । त्यसैले उनी त्यसलाई वादविवाद नभएर वक्तृत्व मान्नुपर्ने जिकिर पेश गर्छन् । ‘वादविवाद हुन आफ्नो विपक्षीले बोलेको कुरालाई पुनः प्रतिक्रिया दिने ठाउँ राख्नुपर्छ,’ वादविवाद र वक्तृत्वको भेद खुट्याउँदै प्रदीप मुस्काए ।

‘हामीले ५ मिनेटमा आएको जति सबै भन्दिछौं र दाबी नै दाबी प्रस्तुत गरेर जान्छौं । कुनै पनि कुराको पक्ष र विपक्ष दुवैमा दर्जन कुरा हुन्छन् । त्यसैले भएभरको सबै तर्कहरूको थोरै–थोरै सतही कुरा मात्र गरेर पुग्दैन । प्रत्येक तर्कको गहिराइमा जानुपर्छ,’ तार्किक लय पक्डँदै प्रदीपले टिप्स बाँडे ।

तर्कभित्र पनि एउटा संरचना हुन्छ । डिबेट नेटवर्क नेपाल (डिएनएन) का सह–संस्थापक प्रदीपका अनुसार त्यसलाई ‘क्रिम’ भनिन्छ । उनले त्यसको बखान यसरी गरे–

‘सी’ भनेको ‘क्लेम’ अर्थात् ‘दाबी’, ‘आर’ रिजन अर्थात् ‘कारण’, ‘इ’ एभिडेन्स अर्थात् ‘तथ्य प्रमाण’ र ‘एम’ भनेको अकनलेजमेन्ट अर्थात ‘विश्लेषण’ हो । सबै कुरा दाबी मात्र गरेर पुुग्दैन । यसलाई सुुरु गरेपछि अन्त्यसम्म पुुष्टि गरेर छाड्ने किसिमको एउटा बलियो तर्क छाडेर जानुपर्छ । वादविवाद हुन आफ्नो विपक्षीले बोलेको कुरालाई फेरि प्रतिक्रिया दिने ठाउँ राख्नुपर्छ । बहस सबैले सिक्न जरुरी छ ।’

अघिल्लो प्रष्टीकरण अपुग लागेर हुनसक्छ प्रदीप फेरि बोले, ‘आलोचनात्मक सोचको विकास अत्यावश्यक कुरा हो । यसले कसैलाई हानि गर्दैन । व्यक्तिले म कुनै कुराको सपोर्ट वा विरोध गरिरहेको छु भन्ने कुरा थाहा पाउन दाबी मात्र गरेर पुग्दैन । त्यसभित्रका अन्तरनिहित कारणहरू पनि थाहा पाउनुपर्छ । जसका निम्ति किन भन्ने प्रश्न अत्यावश्यक छ ।’

धेरैलाई लाग्छ, बहस वकालत गर्ने व्यक्तिलाई मात्र आवश्यक हुन्छ । यसबाहेककाले नजाने पनि हुन्छ । तर प्रदीप यो क्षमता हरेक क्षेत्रको व्यक्तिमा अत्यावश्यक हुने तर्क गर्छन् । उनका अनुसार, शिक्षाकै हिसाबले हेर्दा पनि उच्च शिक्षामा गएपछि गरिने सोध, थेसिस, केस स्टडीमा बहसको कौशलता आवश्यक हुन्छ ।

‘बहसको कोर भनेको कुनै पनि कुराको सत्यताको विविध पाटोको गहिराइमा पुग्ने भन्ने हो । तर त्यहाँ पुगेर मात्र हुँदैन । यसमा पनि दुई वटा पाटो हुन्छ । पहिलो, कसैले केही कुरा सोध्यो भने के यो साँचो हो भनेर जिज्ञासा राख्ने, त्यसको सत्यता खोज्ने । त्यो कुरा साँचो भएर मात्रै पनि पुग्दैन । त्यसको औचित्य के छ, त्यसको महत्त्व के छ, त्यो किन चाहियो, यो नभए के हुुन्छजस्ता प्रश्न पनि सँगै सोध्नुपर्छ । स्तातक तहमा पुगेका कतिवय विद्यार्थीलाई अझै पनि एउटा अनुच्छेद कहाँबाट सुरु गरेर कहाँ अन्त्य गर्ने भन्ने कुराको अन्योल छ,’ प्रदीपले उदाहरणसहित वादविवादको आवश्यकता प्रष्ट्याए।

अहिले पनि धेरै विद्यार्थीमा सामाजिक सञ्जालमा स्ट्याटस लेख्न सक्ने क्षमतासमेत विकास हुन नसकेको प्रदीप ठान्छन् । बोल्ने क्रममा चुरो कुरोमा नपुगेर बहकिने मानिसहरूको स्वभावले त उनलाई झन् वेचैन पार्छ ।

‘हामी बोल्न थालेपछि धेरै ठाउँमा पुग्छौं र ‘चुरो कुरो यो हो है’ भनेर त्यसलाई पुष्टि गर्ने तहमा कुराकानी गर्न चुक्छौं,’ समस्याको जरो समात्दै प्रदीपले भने ।

कुन विषयमा कसरी बोल्दा गहिराइमा पुगिन्छ भन्ने कुरा वक्ताले मनन गर्नुपर्ने उनी सुझाउँछन् । ‘पक्षबाट बोल्दै गर्दा विपक्षबाट के–के कुरा आउँछन् भन्ने पनि सँगसँगै सोच्न सक्नपर्छ,’ उनले भने, ‘विपक्षीबाट आएको कुराको बलियो र सबल पक्ष पनि सोच्दै गर्दा यसको कमजोर पक्ष पनि सोच्नुपर्छ । त्यो हुँदा कुनै पनि कुराको गुण र दोष छर्लंग हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष