NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २० गते
सम्झना

निभ्यो संगीतको चम्किलो प्रकाश

काठमाडौं । कतिपय व्यक्ति होहल्ला र हल्लीखल्लीबाट दूर रहेर आफ्ना कर्म खुरुखुरु गरिरहन्छन् । साधना र तपस्याको बलमा सफलताको सगरमाथा उक्लिए पनि ती प्रचारको लालसा कत्ति पनि देखाउँदैनन् । कामलाई मन्दिर ठानेर ती सिर्फ पूजा गरिरहन्छन् ।

विशिष्ट गायकी, संगीतप्रतिको उच्च बुझाइ भएका प्रकाश तिमिल्सिना त्यस्तै एक सुपात्र थिए जो सधैं आफ्नो व्यक्तित्वको उचाइलाई अग्लो हुन नदिई होचिएरै बस्न रुचाए । नेपाली संगीत आकाशका उनै प्रकाश शनिबार आफ्नो स्रोता तथा शुभेच्छुकलाई खिन्न पार्दै शान्तपूर्वक सधैंका लागि यो भौतिक संसारबाट अलप भएका छन् ।

ललितपुरको भैंसेपाटीमा डेरा गरेर बस्दै आएका प्रकाश यति चाडै संगीत र स्रोतासँगको सम्बन्धबाट अलग्गिएर भौतिक संसारबाट टाढिएलान् भन्ने सायदैलाई लागेको थियो । तर तर उनका सांगीतिक कोसेली कुरेर बसेका स्रोतालाई अवसादमा पार्दै शनिबार राति उनले परलाेककाे सफर तय गरे ।

गायन रियालिटी शो ‘नेपाली तारा’ हुँदै गायन क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल प्रकाश नयाँ पुस्ताका सम्मानित र सर्वप्रिय गायक थिए । गायन क्षेत्रमा हेलिएको छोटो समयमै राम्रो सम्भावना देखाएका गायक थिए, प्रकाश । ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ…’, ‘नमान लाज यसरी…’, ‘नआए नि हुन्थ्यो…’ लगायतका चर्चित गीत उनले नेपाली संगीत पारखीलाई दिएको न्यायो उपहार हुन् ।

संगीतको कुनै सीमा हुँदैन भन्ने कुरालाई राम्रोसँग हृदयंगम गरेका प्रकाश हिन्दी, चाइनिज, जापनिजलगायत भाषाका गीत सिद्धहस्तसँग गाइदिन्थे । यस्ता सर्वप्रिय गायकसँग नेपाली गीत–संगीतका पारखीले अरू धेरै गीतको अपेक्षा गर्नु सर्वथा अस्वाभाविक थिएन । तर प्रकाशको अकल्पनीय शान्त प्रस्थानसँगै यी सबै सम्भावना सदाका लागि अन्त्य भएका छन् ।

विछोडका अवर्णनीय कहर

विधिको विधान भनौं या नियतिको खेल, कतिपयको जीवन विछोड र पीडाको अत्यासलाग्दो अवस्थाबाट गुज्रन अभिशप्त हुन्छन् । नेपाली संगीत पारखीलाई कर्णप्रिय गीत दिएर बिदा भएका प्रकाशको जीवन विछोडका कहालीलाग्दा कहरले भरिएका थिए ।

२०४४ वैशाख १ मा जन्मिएका प्रकाशले बाबुआमा चिन्नै नपाई गुमाए । ०४५ सालको भूकम्पको केही समयपछि कोशीमा आएको बाढीले उनीसहित उनका बाबुआमालाई बगाएर लगेको थियो । बाबुआमालाई सधैंका लागि बगाएर लगेको कोशीले प्रकाशलाई पनि निल्न खोजेको थियो । तर उनी चामत्कारिक रूपमा बाँच्न सफल भए । कुनै एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा प्रकाशले माछा मार्न गएको माझीको जालमा परेर आफू बचेको बताएका छन् ।

सानैमा बाबुआमा गुमाएका प्रकाशलाई त्यो बाढीले जीवनभर नबिर्सने निशानी नै निशानी छाडिदिएको थियो । कोशीको ताण्डवबाट काख र अभिभावकत्व गुमाएका उनका शरीरका टाउको लगायत भागमा बेहिसाब चोट थिए । सबैभन्दा ठूलो चोटचाहिँ उनको दृष्टिमा प¥यो । विस्तारै उनले संसार चियाउने आँखाको ज्योति सधैंका लागि गुमाए ।

कोशीको बाढीले उनको परिवारको सर्वस्व गुमेको थियो । गरी खाने जमिन र मुन्टो लुकाउने बाससम्म थिएन । धन्न, उनकी हजुरआमा देवीमाया बाढीमा परेर बाँच्न सफल भएकी थिइन् । उनै देवीमायाले प्रकाशलाई अरूको घरमा काम गरेर हुर्काएकी थिइन् ।

अनायासै जागेको संगीतको भोक

सानोमा प्रकाशका दौतरी खेल्थे, उफ्रन्थे । तर उनी खेल्न सक्दैनथे । रेडियो नै उनको साथी भयो । रेडियो सुन्दा–सुन्दा उनी नजानिँदोसँग गीत संगीत नजिक भइसकेका थिए । तीन वर्षको उमेरमै उनमा गायनप्रतिको रुचि बढ्न थालिसकेको थियो ।

लाहुरेको बिहेमा क्यासेट बज्थ्यो । त्यस्ता बिहेमा उनलाई गीत गाउन लगाइन्थ्यो । उनी हिन्दीका गीत गाउँथे । सट्टामा चकलेट बिस्कुट पाउँथे । सुन्नेको दिल पनि खुस, उनको पनि । यसले उनमा नजानिँदो ढंगले गायनको नसा गढेको थियो ।

‘सानोमा लाहुरेको बिहेमा क्यासेट बज्थ्यो । क्यासेट बजिसकेपछि मलाई गीत गाउन लगाइन्थ्यो,’ गायनप्रति रुचि बढ्नुको कारणबारे राखिने जिज्ञासामा प्रकाश भन्ने गर्थे, ‘गीत गाइसकेपछि मलाई चक्लेट दिइन्थ्यो । चकलेट खान पाउने भएपछि म अझै यस्ता कार्यक्रममा जाने र गीत गाउने गर्थ थालेँ ।’

लहुरेको बिहे–बटुलमा गीत गाउने भए पनि उनलाई मान्छेले गीत गाउँछन् भन्ने थाहा थिएन । ९ वर्षको उमेरमा बल्ल उनले मान्छेले गीत गाउँछ भन्ने थाहा पाएका थिए । त्यसपछि नै उनले प्रण गरेका थिए भविष्यमा राम्रो गायक बन्ने ।

‘खुसीमा तिमी,दुःखमा तिमी
यो जिन्दगीको भारी बिसाउने
हर मौसममा तिमी…’

यो प्रकाशले गाएको पहिलो गीत थियो । गीतका शब्द मात्र नभएर लय र गायकी पनि राम्रो थियो । तर स्रोताले गीत रुचाइदिएनन् । प्रकाशलाई पहिलो गाँसमै ढुंगा लाग्यो ।

यो गीतपछि प्रकाशले दिव्यदृष्टि भन्ने एल्बम ल्याए । नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको हातबाट विमोचन गराए । त्यसले पनि प्रकाशलाई निराश पा–यो । प्रकाशले कुनै एक टेलिभिजन अन्तर्वार्तामा बताएअनुसार यो एल्बम सुपर–डुपर फ्लप भएको थियो । यो ०६५ सालको कुरा हो ।

२०६६ सालमा राजनराज शिवाकोटीको रचना र संगीतमा प्रकाशले ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ…’ गीत गाए । यो गीतले प्रकाशको असफल गायन यात्राको कोर्ष मात्र बदलिदिएन, एउटा अब्बल गायकका रूपमा समेत उभ्याइदियो । विभिन्न अवार्ड जिते ।

आफ्नो गायन करिअरको कोशेढुंगा बनेको यो गीतपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । उनले जे गायो, त्यही चल्न थाल्यो ।

प्रकाशको गायकीमा छुट्टै किसिमको विशिष्टता पाइन्छ । त्यसैले त उनका हरेक गीतहरू सुनिरहुँजस्ता श्रुतिमनोहर लाग्छन् ।

भनिन्छ, संगीत र साहित्य एक आपसमा बाटिएका धाँगा हुन् । यी आपसमा अन्तर सम्बन्धित हुन्छन् । यी दुईमा एक नहुँदा पूर्णता हुँदैन । तर पछिल्ला समयका गीत सुन्दा लाग्छ, गीतकार संगीत र गीतको सम्बन्धबारे अघोर बेखबर छन् । प्रकाश यसमा सचेत थिए । गाउनका लागि प्राप्त सबै गीत नगाएर उनी छानेर मात्र गाउँथे । त्यसैले नेपाली संगीतमा प्रकाशका गीत गुणात्मक बढी र संख्यात्मक कम छन् ।

गुटबन्दीको मारले गुमेको अवसर

सुन्दा कटु लाग्न सक्छ तर यथार्थ के भने नेपाली गीत–संगीत क्षेत्रमा तीव्र गुटबन्दी छ । यहाँ राम्राले भन्दा हाम्राले स्थान पाउँछन् । गुटमा रमाउन नचाहने कैय्न प्रतिभाशाली कलाकार यसको मारमा छन् । प्रकाश पनि गुटबन्दीबाट पिल्सिएका त्यस्तै संगीतका एक रत्न थिए ।

यही विकृत परिस्थितिले दिग्दारिएका प्रकाश आफ्ना निकटस्थसँग बरोबर गुनासो गर्ने गर्थे– यहाँ कुन गीतलाई कसको स्वर फिट हुन्छ होइन कि को मेरो प्यानलको गायक हो भन्ने हेरिन्छ ।’

यही प्रवृत्तिका कारण प्रकाशले चाहेअनुसारका गीत गाउन पाएनन् भने नेपाली गीत–संगीत सुन्दर गीत पाउनबाट वञ्चित रह्यो । थाहा छैन, यो प्रवृत्तिको शिाकार अझै कति प्रकाश पर्ने हुन् ।

अधुरो रह्यो त्यो चाहा

प्रकाशमा नेपालीमा मात्र नभएर चिनियाँ, थाई, जापनिज, हिन्दी, अंग्रेजीलगायत भाषामा गीत गाउन सक्ने अनौठो क्षमता थियो । विभिन्न कार्यक्रममा उनले व्यावसायिक रूपमै विदेशी गीत गाएर स्रोता कमाएका थिए ।

आफूभित्रको यो क्षमतालाई प्रस्फुटन गराएर उनी गिनिज बुक अफ रेकर्डमा नाम नाम लेखाउन चाहन्थे । एक स्पेनिसले २० भाषामा गीत गाएर रकेर्ड राखेका थिए । यसमा रेकर्ड राख्न आफैंले लेखेको गीतमा संगीतसमेत भर्नुपर्छ । प्रकाश धेरैभन्दा धेरै भाषामा गीत रेकर्ड गराएर इतिहास आफ्नो नाममा दर्ज गर्न चाहन्थे । तर व्रह्मलिन भएसँगै उनको यो चाहना अधुरो रहेको छ ।

एसियन स्टार बन्ने उनको अर्को चाहना त त्यस पहिले नै क्षणभंगुर भएको थियो । नेपालको तर्फबाट विजयी उनी अझै अघि बढ्न चाहन्थे । रितिक रोशन काण्ड चलिरहेको त्यो समय उनलाई जन्मस्थान कलकत्ता भन्न दबाब दिइयो । स्वाभिमानी प्रकाशले त्यस्तो दबाब स्वीकार गर्ने कुरै थिएन । उनी जित्ता जित्दै पनि प्रतियोगिता छाडेर फर्किएका थिए ।

यी सबै घटनाक्रम र सरकारको असहयोगले प्रकाश विरक्तिएका थिए । एउटा अन्तर्वार्तामा उनले यही विरक्त भाव व्यक्त गर्दै भनेका थिए– बरु भारतीय नागरिक बन्ने प्रस्ताव स्वीकार गरेको भए हुन्थ्यो कि ?

एउटा सिद्धहस्त गायकले व्यक्त गर्ने यस्तो दिग्दारी कम सोचनीय प्रश्न छैन । तर दुर्भाग्य सोच्नु पर्नेहरूले, सुन्नुपर्नेहरूले यो सुनिदिँदैनन् ।

आफ्नो जादुयी आवाजले नेपाली गीत–संगीत क्षेत्रलाई समृद्ध पारेका प्रकाश ३७ वर्षको अल्पायुमै हामीबाट बिदा भएका छन् । छोटो समयमै यो संसार छाडेर संगीतप्रेमी र शुभेच्छुकलाई खिन्न पारे पनि उनका श्रु्तिमनोहर गीतहरूले युग–युगसम्म उनलाई जीवन्त राखिरहनेछ ।

नेपाली गीत–संगीतले चिन्न नसकेका हिरा प्रकाशप्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली !