NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते
कुरा पैसाको

कहाँसम्म पुग्छ सेयर बजार ? कहिले किन्ने, कहिले बेच्ने ?

काठमाडाैं । निरन्तर ओरालो लागेको पुँजीबजारमा अहिले भने उच्च अंकको वृद्धि देखिएको छ ।  झण्डै तीन वर्षदेखि लगानीकर्तालाई निरुत्साहित बनाएको पुँजीबजारले अहिले नयाँ उत्साह थपिदिएको हो ।

नयाँ सत्ता समिकरण त्यसमा पनि अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन भएसँगै लगानीकर्ता पनि उत्साहित देखिएका छन् । विसं २०७८ सालमा उच्च विन्दु अर्थात ३१ सय ३९ मा पुगेर निरन्तर खस्किएको पुँजीबजार १८ सय विन्दुसम्म पुग्यो । अहिले बजार २८ सयको हाराहारीमा छ ।

यसरी निरन्तर खस्किएको बजार एक्कासी उच्च रुपले बढ्नुलाई स्वभाविक र अस्वभाविक भन्नेहरुको जमात दुईतर्फ विभाजित देखिन्छन् । लगानीकर्ता किरण भट्टराई सेयर बजार चक्रअनुसारको बजार भएकाले अहिलेको वृद्धिलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । त्यस्तै लगानीकर्ता प्रेम रिजाल यत्तिबेला बजारले राम्रो लय समातेको विचार राख्छन् ।

लगानीकर्ता अञ्जु नेपाल कुनै कुनै कम्पनीको इन्डिकेटर नसुहाउँदो वृद्धि देखिएपनि लामो समयपछिको करेक्सन भएको उल्लेख गर्नुहुँदै अहिलेको बजार वृद्धि स्वभाविक नै भएको धारणा राखिन् ।

बजार वृद्धिसँगै कमजोर वित्तिय अवस्था भएका कम्पनीको सेयर मूल्य पनि अस्भाविक रुपले बढेको देखिन्छ । अस्वभाविक रुपमा वृद्धि भएको कम्पनीको वित्तिय विवरण विश्लेषण गर्ने हो भने प्रतिसेयर आम्दानी (इपिएस), मूल्य आम्दानी अनुपात (पिई रेसियो) लगायत ऋणात्मक देखिन्छ ।

त्यस्ता कम्पनीको सेयरमूल्य दुई सयबाट १७/१८ सय सम्म बढेको पाइन्छ । यसले कम्पनीको सेयर मूल्यमा उच्च चलखेल हुने सम्भावना देखिन्छ ।

सेयर लगानीकर्ता कमलराज खरेल कुनै पनि कम्पनीले अहिलेसम्म कुनै लाभांश नदिएपनि, पुँजी कम भएपनि एक दिन राम्रो प्रतिफल दिन्छ भन्ने विश्वासले ती कम्पनीमा लगानी गर्ने गरेको बताउछन् ।

त्यस्तै अहिले पुँजी बजारमा धेरै कर्नरङि भएको बताउँदै कसले के गरिरहेको छ ? कसरी कम्पनीको मूल्यमा अस्वाभाविक वृद्धि भइरहेको छ त्यसबारे नियामक निकायले अनुसन्धान गर्नुपर्ने खरेल बताउँछन् ।

सेयर बजारमा लगानी गर्दा लगानीकर्ताले कसैको लहैलहैमा र हल्लाको भरमा कारोबार गर्दा डुब्ने सम्भावना धेरै हुन्छ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले आधारभूत विश्लेषण गर्न जानेर मात्रै कारोबार गर्दा पनि आफ्नो लगानी डुब्नेबाट सुरक्षित हुन सकिन्छ । लगानीकर्ता खरेल पुँजीबजारमा लगानी गर्ने लगानीकर्ता कम्पनीको वित्तिय विवरण अध्ययन गरेर मात्रै लगानी गर्नुपर्ने सुझाव दिन्छन् ।

नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा निर्मित टेलिभिजन कार्यक्रम  ‘कुरा पैसा’को यो एपिसोडमा पुँजीबजारको वर्तमान अवस्था, सेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुरालगायत विविध विषयमा केन्द्रित रहेर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. भरतसिंह थापासँग धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले गरेको कुराकानी तल हेर्नुहोस् :