ब्रह्मपुरी गाउँपालिकामा विद्यार्थीलाई विद्यालय जान प्रतिवन्ध

विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत हो, तर सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ५ सखुहवास्थित प्राथमिक विदालय भवनमा सशस्त्र प्रहरीले पोस्ट नै खडा गरेर बसेको छ । विद्यालयलाई काँडेतारले घेरिएको छ भने बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको छ । ६ कात्तिकमा विद्यालय रहेको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । गाउँपालिका कार्यालयले निर्णय नै गरेर दिएपछि स्कुलको भवनमा सुरक्षाकर्मी आएर बसेका हुन् । विद्यालयका सम्पूर्ण फाइल एउटा कोठामा थुपारिएको छ । विद्यालयमा विद्यार्थीलाई निषेध छ । प्रधानाध्यापक शेष सबिर अहमद विद्यालय पुग्छन्, आफ्नो हाजिर गर्छन् र फर्कन्छन् । किनकी विद्यालयमा काँडेतार लगाएर सुरक्षाकर्मी बसेका छन् । काँडेतारले घेरेर विद्यार्थीलाई बाहिर पठाइएको छ र हतियारसहित सुरक्षाकर्मी बसेका छन् । प्रधानाध्यापक अहमदका अनुसार उक्त विद्यालय बन्द भए बालबालिका अब अर्को विद्यालय जानुपर्नेछ । जो टाढा जान सक्दैनन्, उनीहरूका लागि शिक्षा अब सपना मात्र हुनेछ । ब्रह्मपुरी गाउँपालिकाकाले बालबालिकालाई धर्मशालामा राखेर पढाउने भन्दै विद्यालयमा सुरक्षाकर्मी राख्न सहमति दिएको हो । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्नु ठीक हो । तर, सरकारले एउटा पोस्ट स्थापना गर्न सक्दैन ? बालबालिकाको कक्षाकोठा नै हत्याउनुपर्छ ? ’ स्थानीय अभिभावक विद्यानन्द यादवको प्रश्न सहितको समाचारलाई नयाँ पत्रिका दैनिकले प्रमुख समाचार बनाएको छ ।
प्रतिक्रिया