सुन तोलामा साढे ३ हजारले घट्यो, कोभिड खोपदेखि अमेरिकी चुनावसम्मको प्रभाव

काठमाडौं । विवाहको मौसम सुरु हुन लाग्दा सुनको मूल्यमा एकैदिन भारी गिरावट आएको छ । मंगलवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार आठ सयमा झरेको छ । एकै दिनको अन्तरमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले झरेको हाे । सोमबार प्रतितोला सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि न्यून गिरावट आएको छ । मंगलवार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय १५ छ । सोमबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय ८५ थियो । कोभिड खोपदेखि अमेरिकी चुनावसम्मको प्रभाव सुनको मूल्यमा भारी गिरावट आउनुमा कोभिडकाे खोपदेखि अमेरिकी चुनावसम्मको कारण औंल्याउँछन्, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य । सोमबारमात्रै अमेरिकन बहुराष्ट्रिय कम्पनी फाइजर कम्पनी र जर्मनीको वायो एण्ड टेक कम्पनीले संयुक्त रुपमा कोरोना विरुद्धको खोपको विकास गरेकाे सार्वजनिक भएको थियो । उक्त खोपको कोरोनाविरुद्ध लड्ने सफलता प्रतिशत ९० प्रतिशत भएको दावी गरिएको छ । आगामी एक महिनाभित्र उक्त खोप विश्वबजारमा ल्याउने दावी ती कम्पनीले गरेका छन् । मूलतः नयाँ खोपको विकासका कारण विश्व बजारमा नयाँ आशा जगाएकाले पनि यसको प्रभाव सुनमा परेको शाक्य बताउँछन् । यसैगरी अमेरिकाको नयाँ चुनावी परिणामले पनि सुनको मूल्यमा प्रभाव पारेको उनको भनाइ छ । हालै अमेरिकाले १२ जनाको विज्ञ टिम गठन गरेर आफ्ना नागरिकलाई कोरोना संक्रमणबाट जोगाउने प्रयास गरेको सकारात्मक सन्देशको असर पनि सुन बजारमा देखिएको शाक्य बताउँछन् । खासगरी पछिल्लो समय विकास भएका घटनाक्रमले संसारभरका मानिसहरूलाई कोरोनाको डरबाट मुक्ति पाउने आशा दिलाएको छ । यसले विश्वभरी व्यापार, लगानी र आर्थिक गतिविधिमा नयाँ उभार सृजना गरेको छ । ‘हिजो सबै आर्थिक गतिविधि ठप्प हुँदा सुनमा लगानी केन्द्रित भयो,’ शाक्य भन्छन्, ‘अब त्यो पैसा पुनः व्यापार, उद्योग र आर्थिक गतिविधिमा लगानी हुन थालेपछि सुनको मूल्य घटेको हो ।’ सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार नौ सय ६४ डलर रहेको सुनको मूल्य मंगलबार एक हजार आठ सय ८४ मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । ‘हिजोको आजै यति परिवर्तन हुन्छ भन्ने कुरा हाम्रो कल्पनामै थिएन ।’
प्रतिक्रिया