काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बस सेवा सुरु

काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बस सेवा सुरु भएको छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ देश दर्शन बस सेवा प्रालिले सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्नका लागि रात्रिकालीन बससेवा सुरु गरेको प्रालिले जनाएको छ । काठमाडौँको बौद्धबाट साँझ साढे ६ बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने साढे सात बजेमात्र काठमाडौँको लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए । मुख्य–मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ । प्रालिले यसअघि नै काठमाडौँ–जनकपुर, काठमाडौँ–सुनौली र काठमाडौँ–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताए । रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उनकोे भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो । अहिले काठमाडौँबाट मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर झन्डै एक सय पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।
ताजा अपडेट
-
प्रतिनिधिसभाबाट ‘जलस्रोत विधेयक २०८१’ पारित
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
प्रतिक्रिया