NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

नेपालमा भोलिदेखि कोरोनाको खोप आउने

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धकाे १० लाख डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने बताएका हुन् । मन्त्री त्रिपाठीले भारतले पठाउने खोप बिहीबार (भोलि)देखि नै नेपाल आउने जानकारी दिएका छन् । भारतले अनुदानमा नेपाललाई दिन लागेको १० लाख डोज खाेप बारेकाे जानकारी स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले पत्रकारसम्मेलनमार्फत् गराएका हुन् । भारतले बेलायती औषधी निर्माता कम्पनीसँग मिलेर विकास गरेको खोप नेपाललाई अनुदानमा दिन लागेको हो । सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्धको कोभिसिल्ड खोप विकास गरेको हो । सोही खोप नेपाललाई उपलब्ध गराइन लागेको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाम राखेर उत्पादन गरेको छ ।