प्रधानमन्त्रीले न्यायालयलाई प्रभाव पार्न खोजेको विरोधमा बालुवाटारमा विरोध प्रर्दशन हुने

काठमाडौं । प्रधानमन्त्रीले ५ पुसका असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाजले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । विघटनपछि पनि प्रधानमन्त्री र मन्त्रीहरुले न्यायलयलाई प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको भन्दै विरोधमा सोमबार समाजले विरोध प्रदर्शन गर्न लागेको हो । ‘असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन पश्चात प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न मन्त्रीहरुले कुनै पनि हालतमा प्रतिनिधिसभा पुर्नस्थापना हुँदैन भन्दै न्यायालयलाई प्रभाव पार्न अनेकौ प्रपञ्च गरेको देखिन्छ । यसैगरी ओली सरकारले राज्य संयन्त्रको दुरुपयोग गरिरहेको छ भने प्रधानमन्त्री स्वयं आपत्तिजनक अभिव्यक्ति प्रवाह गरिरहनुभएको छ’ समाजका सभापति उत्तम पुडासैनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न खोजिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्रीमन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा माघ १२ गते दिउँसो १२ बजे प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजित विरोध प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने छ ।’ यस अघि पनि समाजले माइतीघर मण्डलासहितका स्थानमा विरोध प्रदर्शन गर्दै आएको छ ।
प्रतिक्रिया