आयाेगले नेकपा फुटेको नमानेपछि नेकपा र सूर्य चिन्हकाे विवाद थप जटिल

काठमाडौं । नेकपा र सूर्य चुनावको दाबी थप जटिल बन्ने भएको छ । निर्वाचन आयोगले नेकपाका दुई पक्षलाई कानुनी रुपमा विभाजित नभएको निर्णय गरेपछि विषय थप जटिल बन्न पुगेको हो । आयोगले दुवै नेकपाले ५ पुस यता गरेका बैठक र निर्णयलाई अवैधानिक भनेको छ । दुवै पक्षले आफूहरु नै आधिकारिको रहेको भन्दै दल दर्ता किताबमा अद्यावधिक गराइदिन आयोगमा पत्र बुझाएका थिए । तर, दुवैको दावी अनुसार आयोगले दल दर्ता किताबमा हेरफेर गर्न नसकिने निर्णय गरेको छ । आयोगका तीनै जना पदाधिकारीले सर्वसम्मतिमा गरेको निर्णयमा भनिएको छ, ‘प्राप्त कागजातबाट नियमावलीको नियम २५ ९५० बमोजिम नेकपाबाट प्राप्त विवरणबाट आयोग सन्तुष्ट हुन नसकेकाले नेकपामा कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन सक्ने देखिएन ।’ ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डको बहुमत समूहले ओलीलाई अध्यक्षबाट हटाएर कारवाही गरेको छ । ओ लीको सट्टामा माधव नेपाललाई अध्यक्ष बनाइएको छ । ओली समूहले पनि केन्द्रीय समिति विस्तार गरेर १५ सय हाराहारी बनाएको छ । विघटनपछि दुवै नेकपाले आफूहरु आधिकारिक रहेको भन्दै आयोगमा निवेदन दिने कार्य गर्दै आएका थिए । तर, आयोगले कानुनी रुपमा नेकपा विभाजित भएको नमानेको हो । नेकपाको विधानसमेत दुई थरी देखिएपछि आयोगले दल एकीकरणका बेला बुझाइएको विधानलाई मान्यता दिएको छ । तत्कालीन महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको विधानमा रहेका प्रावधानहरूकै आधारमा आयोगले निर्णय गरेको छ । ‘आयोगमा प्राप्त हुन आएका पत्रहरूको अध्ययन तथा जाँचबुझ गर्दा एउटै पार्टीको नामबाट एकै दिनमा केन्द्रीय कमिटीको दुईवटा फरक–फरक बैठक बसेको र फरक–फरक निर्णय भएको हुँदा कुन निर्णयलाई आधिकारिक मानेर अभिलेखीकरण गर्ने भन्नेमा संविधानको धारा २६९, ऐन–नियमावली पार्टीको विधान आकर्षित हुने देखियो । उहाँहरू आफैंले बनाएको विधानसँग ती निर्णयहरू मेल खाएको छैन,’ आयोगका एक पदाधिकारीले भने, ‘आयोगले हेर्ने ऐन, नियम र विधान नै हो । त्यसअनुसार कसैको पनि मागदाबीअनुसार अभिलेखीकरण गर्ने अवस्था रहेन ।’ यस्तोमा नेकपामा झन् जटिलता देखिने भएको हो । दिनहुँ जसोका सार्वजनिक कार्यक्रमा दुवै नेकपाले नेकपा र सूर्य चिन्ह आफ्नो भएको दाबी गर्दै आएका छन् । तर, आयोगले नेकपा फुटिसकेको नमानेपछि यसको निरुपण गर्न अदालतसम्म मुद्दा पुग्ने वा दलको आधिकारिकता दाबी सम्बन्धमा निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा अनुसार अघि बढ्ने भन्ने दुई विकल्प नेकपाका दुई समूह सामू छ । आगोले गोलमटोल निर्णय गरेपछि अब दलको मान्यता र चुनाव चिन्ह सूर्यको लागि नेकपाका कुनै समूह अदालतसम्म पुग्ने देखिन्छ । साथै दलको आधिकारिकता दाबी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३र४४ को प्रक्रियामा अघि बढ्ने विकल्प पनि दलहरुलाई छ ।
प्रतिक्रिया