पहाडीसहित २६ अधिकारकर्मी बालुवाटारबाट गिरफ्तार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गर्न खोज्ने अधिकारकर्मी गिरफ्तार भएका छन् । मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीसहित वर्तमान सभापति उत्तम पुडासैनीसहित २६ अधिकारकर्मी गिरफ्तार भएको समाजले जनाएको छ । ‘ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्रीमन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजले माघ १२ गते दिउँसो प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको छ’ समाजले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई गिरफ्तार गरेको छ ।’ विरोध प्रदर्शनका क्रममा सहभागीहरुले प्रधानमन्त्री ओलीले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया