सरकारी छात्रवृत्तिमा पढेर खटाएको अस्पतालमा जान डाक्टरहरूको अटेरी

काठमाडौं । दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले सरकारले हरेक वर्ष निश्चित संख्याका डाक्टरहरूलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउँछ । अध्ययनबापत भत्तासहितको सुविधा छात्रवृत्ति पाउने डाक्टरले पाउँछन् । त्यसबापत लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक इन्स्टिच्यूटहरूलाई प्रतिडाक्टर वार्षिक चार लाख रुपैयाँका दरले छात्रवृत्तिबापतको शूल्क तिर्दै आएको छ । यसबाहेक अध्ययन बापत मासिक भत्ता पनि उपलब्ध गराउँदै आएको छ । सरकारले धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रि.वि शिक्षण अध्ययन संस्थान महाराजगञ्ज र पोखरास्थित मणिपाल अस्पतालबाट डाक्टरहरूलाई छात्रवृत्तिमा पोष्ट ग्राजुएसन तहको अध्ययन गराउँदै आएको छ । यसरी सरकारी सुविधा लिएर पढेका डाक्टरहरू अध्ययन सकेपछि सरकारले खटाएको अस्पतालमा सेवा दिनुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सरकारले ती डाक्टरहरूसँग कबुलियतनामा नै गराएको हुन्छ । यसरी सरकारी सुविधामा अध्ययन सकेपछि ती डाक्टरहरूलाई आवश्यकता अनुसार दुर्गम जिल्लाका अस्पतालमा खटाइन्छ । सबै जिल्ला अस्पतालहरूमा विशेषज्ञ सेवा अन्तर्गत गर्भवती महिलाको अपरेशन, हर्निया, एपेन्डिसाइटिस लगायतको अपरेशन गर्ने चिकित्सक पठाउँदै आएको छ । तर, यसरी सरकारी सुविधामा पढेका डाक्टरहरू सरकारले खटाएको अस्पतालमा जान अटेरी गरिरहेका छन् । सरकारी छात्रवृत्तिमा हालै अध्ययन पूरा गरेका १० डाक्टरले यसैगरी सरकारी निर्देशन अटेर गरेका छन् । पोस्टिङ गरेको अस्पतालमा नगई सरकारी निर्देशन अटेर गरेर उनीहरू सम्पर्कबिहीन भएको मन्त्रालय बताउँछ । पाँच दिनभित्र हाजिर हुन मन्त्रालयको सूचना सरकारी सुविधामा अध्ययन सकेर खटाएको अस्पतालमा नजाने डाक्टरहरूलाई अस्पतालमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ । सरकारी छात्रवृत्तिमा पोष्ट ग्रयाजुएसन तह अन्तर्गत एमडी÷एमएस गरेका दश डाक्टरलाई पाँच दिनभित्र खटाइएको अस्पतालमा हाजिर हुन निर्देशनसहितको सूचना बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको हो । ती चिकित्सकलाई सुदुरपश्चिमको बझाङ, दाचुर्ला लगायतका क्षेत्रमा पोस्टिङ गरिएको थियो ।‘सरकारी छात्रवृत्तिमा पढेर सरकारले खटाएको अस्पताल जान अटेरी गरेपछि सूचना प्रकाशित गरेका थियौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा अन्तर्गतको चिकित्सा सेवा, शिक्षा र अनुसन्धान शाखा प्रमुख डा. पवनजंग रायमाझीले भने । डा. रायमाझीका अनुसार सूचना प्रकाशित भएको २४ घण्टा भित्रै अधिकांश डाक्टरहरू सम्पर्कमा आइसकेका छन् । दुई जनाले त पत्र समेत बुझिसकेका छन् । अटेरी गरे कारवाहीको तयारी सरकारी निर्देशन अटेर गरी तोकिएको अस्पताल नगए ती डाक्टरहरूलाई कारवाही गरी रकम असुल उपर गर्ने चेतावनी मन्त्रालयले दिएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन सकेर खटाइएको अस्पतालमा नजाने डाक्टरहरूलाई सरकारी शिक्षण संस्थाहरूमा चिकित्सा शास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कारवाही गरी असुल उपर गर्ने व्यवस्था छ । सुविधा लिएर खटाएको अस्पतालमा नजाने एक जना डाक्टरलाई यसअघि मन्त्रालयले कारवाही गरेको थियो । ‘डाक्टरहरूले भनेको अस्पतालमा मन्त्रालयले राख्ने होइन, आवश्यकताका आधारमा मन्त्रालयले पोस्टिङ गर्ने हो, त्यहाँ जानुपर्छ ।’ रायमाझीले नेपालवाचसँग भने । तोकिएको अवधिभित्र सम्पर्कमा नआउने डाक्टरहरूलाई कारवाही गरिने उनले बताए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया