नेपालका सन्तोष साह मास्टरसेफको उपविजेता

नेपालका सन्तोष साह विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफस् द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगी उपविजेतामा सीमित भएका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारण भएको ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना पूरा भएन । यो उपाधि बेलायती सेफ आलेक्स वेवले जित्न पुगे । तर, टप थ्रीसम्म पुग्न सक्नुलाई नै साहले ठूलो उपलब्धी मानेका छन् । ३२ जना व्यवसायिक सेफबीच सुरु भएको प्रतियोगितामा यहाँसम्म पुग्नुलाई उनी ठूलो उपलब्धी मान्छन् । आफूलाई धेरै अनुभव भएको भारतीय खानाभन्दा नेपाली खानालाई विश्वस्तरमा पुर्याएर लाखौं नेपालीको मन जित्न सफल भएको उनको भनाई छ । भारतीय खाना बनाएर उपाधि जित्दा आफूलाई नेपालीको मन जित्न गाह्रो हुने उनको प्रतिक्रिया छ । प्रतियोगितामा उनले तराईदेखि हिमालसम्म खाइने विभिन्न खाना बनाउँदै उत्कृष्ट सजावट गरेर निर्णायकको मन जितेका थिए । उनले ग्रान्ड फिनालेमा भैंसीको मासु, खोलेको साग, भेडाको गिदी आदि पकाएर चरेसको थालमा पस्किए । सा हले यसअघि जिम्बु मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, पुरी, गंगटाको करी, कोदोको खिर, आंपको कुल्फी, तराईमा प्रचलित आंपको ‘अमोट’, नेपालको हिमाली भेगमा प्रचलित काँक्रोको भुटेको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जित्न सफल भएका थिए ।
प्रतिक्रिया