NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

बूढानीलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला

काठमाडौं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आज आइतबारदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर खुला गरिएको घोषणा गरे । कार्यक्रममा प्रदेशसभा सदस्य निरौलाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर क्षेत्रको विश्वका वैदिक सनातन धर्मावलम्बीबीच प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । नगर प्रमुख खरेलले विसं २०४० मै अधिग्रहण भएको मन्दिर क्षेत्रको जग्गालाई मठ मातहत ल्याई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हिसाबले संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । अधिग्रहण भइसकेको जग्गा छाडिदिन पनि उनले सरोकार भएकालाई आग्रह गरे । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले बताए । मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगन गरिएको थियो । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेकाले विश्वमै मन्दिरको महत्वपूर्ण स्थान रहेको महन्त निगमानन्दको भनाइ थियो । बूढानीलकण्ठमा ठूलो शिलामा जलमाथि रहेको मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । मन्दिर खुला गरिएपछि भक्तजन दर्शनका लागि आउन थालेका छन् । यसले गर्दा सुनसान रहेको मन्दिर क्षेत्रमा चहलपहल बढेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष