NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओलीले प्रचण्ड र नेपाललाई खड्ग हान्न मात्रै बाँकी : डा. भट्टराई

काठमाडाैं । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीबाट नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपालको टाउकोमा खड्ग प्रहार गर्न मात्र बाँकी रहेको बताएका छन् । जसपाको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले ओलीले प्रचण्ड र नेपाललाई निरन्तर गोदेको गोदै गरेको पनि बताए । ‘ओलीले निरन्तर रुपमा प्रचण्ड र नेपाललाई गोदेको गोदै छन् । अहिले आएर बल्ल उनीहरुले बुझेका छन्’ भट्टराईले भने, ‘ओलीले अब यी दुई नेताको टाउकोमा खड्ग हान्न मात्र बाँकी छ ।’ ओलीले निरन्तर खेदो गर्ने गरे पनि अझै मिलेर जान गरेको प्रस्तावको भ्रममा नपरी सशक्त रुपले मिलेर ओलीको असंवैधानिक कदमको प्रतिवाद गर्नुपर्ने बताए । ओलीले चुनाव गराउँछन् र पहिलो पार्टी बन्छौं भन्ने भ्रम नपाल्न उनले कांग्रेसलाई पनि आग्रह गरे । ‘ओलीले चुनाव गराउँछन् र हामी पहिलो पार्टी बन्छौं भन्ने भ्रममा कांग्रेसहरु नपरे हुन्छ’ भट्टराईले भने, ‘चुनाव त हिजो राजा ज्ञानेन्द्रले पनि गराएका थिए । तर, हामीले भाग लिएनौं । अब सबै मिलेर ओलीको कदमको सशक्त प्रतिवाद गर्नुपर्छ ।’ चुनाव घोषणा ओलीको फन्डा मात्रै भएको आरोप उनको थियो ।