NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

सात दिनदेखि कोरोनाको उपचार गराइरहेका सिटौलाको स्वास्थ्यमा राम्रो सुधार

काठमाडौं । १६ दिन अघि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको छ । कोरोनाबाट संक्रमित भएपछि एक अघि हप्ता ह्याम्स अस्पतालमा उपचाररत सिटौलाको अवस्थामा राम्रो सुधार आएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । ‘उहाँलाई १६ दिन अघि कोरोना देखिएको थियो । तर, सात दिनसम्म होम आइसोलेसनमा बसेपछि एक हप्ता अघि अस्पतालमा भर्ना हुनुभएको थियो’ किरणले नेपालवाचसँग भने, ‘कफमा रगत देखिएपछि परीक्षण गर्दा निमोनिया पनि देखियो अनि अस्पतालमा लगेका थियौं । तर, एक हप्तामा उहाँको स्वास्थ्यमा राम्रो सुधार आएको छ ।’ अब ज्वरोको औषधी दिन नपरे एक दुई दिनमैं डिस्चार्ज हुने जानकारी पनि उनले दिए । ‘पछिल्लो दिनमा ज्वरोको औषधी दिइएको छैन । अब ज्वरो आएन भने एक दुई दिनमा डिस्चार्ज गर्ने कुरा छ’ किरणले भने, ‘उहाँको अक्सिजनको लेभल नघटेकोले सुरुदेखि अहिलेसम्म अक्सिजन दिनुपरेको छैन ।’ अस्पतालको कोभिड वार्डमैं सिटौलाको उपचार भइरहेको छ । सिटौलाको अवस्था बुझ्न महामन्त्री डा. शशांक कोइराला अस्पताल पुगेका थिए । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले भने फोनबाटै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलसहितका नेताहरु पनि पटकपटक अस्पताल पुगिसकेका छन् । डा.अनुपराज सुवेदी नेतृत्वको चिकित्सक टोली सिटौलाको उपचारमा खटिएको छ ।परीक्षणमा सिटौलालाई कोरोना पोजेटिभ देखिए पनि परिवारलाई भने नेगेटिभ देखिएको थियो ।