इन्धन खपतमा कमी आउँदा पनि आयल निगम नाफामा

काठमाडौं । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको हो । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफामा वृद्धि भएको हो । ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ । कुन वर्ष कति नाफा लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षहरुमा नाफा भएको छ । निगमले गत आव २०७२७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ, आव २०७३७४ मा ९ अर्ब ४५ करोड रुपैयाँ, २०७४७५ मा तीन अर्ब ५८ करोड रुपैयाँ, २०७५७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ र गत आव २०७६७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ । निगमले आव २०७५७६ मा २९ करोड रुपैयाँ रहेको चुक्ता पूँजीलाई दश अर्ब रुपैयाँ पूँजी वृद्धि गरेर एघार अर्ब रुपैयाँ पुर्याएको थियो । आव ०७५७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७६७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । दश महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा रु एक अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै, गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको जनाएको छ । आव २०७०७१ मा प्रतिलिटर एक सय ३४ रुपैयाँ रहेको पेट्रोलको मूल्य आव ०७६७७ को असार मासान्तसम्म घटेर एक सय दुई रुपैयाँ मा झरेको थियो । यस्तै सोही अवधिमा एक सय पाँच रुपैयाँ रहेको डिजेलको मूल्य घटेर ८८ रुपैयाँमा झरेको थियो । निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।
प्रतिक्रिया