पूर्व परराष्ट्रमन्त्री महतको आरोप-नेपाल चीन र भारतको अखडा

काठमाडौं । कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले केपी ओलीको सरकारका कारण देश शक्ति राष्ट्रको अखडा भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा चक्रपथमा आयोजित कार्यक्रममा महतले सरकारले नेपाललाई शक्ति राष्ट्रको अखडा बनाएको आरोप लगाएका हुन् । ‘ओली सरकारले नेपाललाई शक्ति राष्ट्रको चलखेलको अखडा बनाएको छ । नेपाली जनतालाई शक्तिको स्रोत विदेशीलाई ठान्नुभएको छ’ महतले भने, ‘कहिले भारतबाट रअ प्रमुख आउँछन् । कहिले चीनबाट रक्षामन्त्री, कहिले विदेश विभाग हेर्ने मन्त्री आउँछन् । हामी आफैं अघि बढ्छौं भनेर सरकारले न चीनलाई न भारतलाई भन्यो । बरु ओलीजी गफ चुटेरै बस्नुभयो ।’ आन्तरिक द्वन्द्व र शक्ति हत्याउने दाउमा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप उनले लगाए । असंवैधानिक कदमविरुद्ध अदालतमा मुद्दा पुगेको भन्दै महतले अन्तिम निरुपणपछि कांग्रेसले आगामी बाटो तय गर्ने उनको भनाई छ । पूर्व परराष्ट्रमन्त्रीसमेत भइसकेका महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिलाई आखाँ जुधाएर राष्ट्रियताको विषय अडान लिन सक्नुपर्ने बताए । प्रधानमन्त्रीले भ्रष्टाचार, कमिसनभन्दा जनताको पीरमर्का र कोभिडका बिरामीको उपचारको विषय नदेखेको आरोप उनले लगाए ।
प्रतिक्रिया