आजका ‘गुड न्युज’ : उखु किसान र सरकारबीच ४ बुँदे सहमति, २१ दिनभित्र उद्योगीले सबै बक्यौता तिर्ने

आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका ‘गुड न्युज’ : – उखु किसान र सरकारबीच ४ बुँदे सहमति, २१ दिनभित्र उद्योगीले सबै बक्यौता तिर्ने चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई सातादेखि आन्दोलनरत् उखु किसानले सरकारसँगको ४ बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसानबीच यस्तो सम्झौता भएको हो । चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा कृषकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न पनि सम्झौता भएको छ । – इन्धन खपतमा कमी आउँदा पनि आयल निगम नाफामा कोरोना महामारीका कारण इन्धन खपतमा कमी आउँदा नेपाल आयल निगमका नाफामा भने वृद्धि भएको छ । गत ११ चैतदेखि सुरु बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको हो । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/०७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार निगमले १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । – पोखरा विमानस्थल निर्माणका लागि ५२ चिनियाँ कामदार नेपालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरूले संक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दासम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ । कामदार आएसँगै बन्द रहेको विमानस्थल निर्माणको कामले गति लिने भएको छ । – सशस्त्र द्वन्द्व र प्रदेश आन्दोलनका घाइतेलाई कर्णाली प्रदेश सरकारले निःशुल्क उपचार गरिदिने सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका घाइतेहरूको उपचार खर्च कर्णाली प्रदेश सरकारले व्यहोर्ने भएको छ । सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपांगता भई उपचार गराउन नसकेकाहरूलाई कार्यविधि बनाएर उपचार खर्च व्यहोर्न थालिएको हो । यसका लागि प्रदेश सरकारले द्वन्द्वपीडित घाइते अपांग उपचार राहत खर्च कार्यविधि, २०७७ तयार पारेको छ । उक्त कार्यविधिको परिधिभित्र रहेर खर्च गर्ने गरी सम्बन्धित अस्पतालहरूलाई आर्थिक अख्तियारी समेत दिइएको छ । – गुल्मीमा धान उत्पादन वृद्धि गुल्मीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार यो वर्ष गत वर्षको तुलनामा उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यस वर्ष १० हजार चार सय ५० क्षेत्रफलमा ३१ हजार एक सय ७५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष ३ हजार मेट्रिक टन उत्पादन वृद्धि भएको हो ।
प्रतिक्रिया