NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

देशभर ७३ प्रतिशत ब्रोडव्याण्ड इन्टरनेट सेवा जडानको काम सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी देशभरका ७३ प्रतिशत स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा जडान गराएको छ । मंसिर मसान्तसम्म प्राधिकरणले ७३ प्रतिशत काम सम्पन्न गरेको हो । यस सम्बन्धी परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गरेको र हालसम्म ७२ दशमलव ९३ प्रतिशत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ । विभिन्न १२ वटा प्याकेज अन्तर्गत देशका ४६ जिल्लामा तोकिए बमोजिमका स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्येमा हालसम्म ११ हजार २१३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ । हालसम्म ५१२ स्थानीय निकायमा इन्टरनेट जडान सम्पन्न भएको छ । यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्येमा हालसम्म चार हजार २१३ स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्येमा हालसम्म तीन हजार ५०५ स्थान र चार हजार १२२ स्वास्थ्य संस्थामध्येमा हालसम्म दुई हजार ९८३ स्थानमा इन्टरनेट जडान सम्पन्न भएका छन् । प्राधिकरणको तथ्यांक चार हजार ७६९ स्थानमा जडानको कार्य बाँकी रहेको छ । तथ्यांक अनुसार दुई वटा प्याकेज अन्तर्गतका नौ जिल्लामा ५० प्रतिशत भन्दा बढी, चार प्याकेज अन्तर्गतका १९ जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्रवक्ता अर्यालले बताए ।