तरकारी किन्न पैसा बोक्नैपर्ने बाध्यताको अन्त्य गछौंः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटाइने बताएका छन् । वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाइने बताएका हुन् । अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको छ । यो बाध्यतालाई आगामी वर्ष नै हटाउने गरी काम भइरहेको उनले बताए । एक वर्षभित्रै तरकारी बजारहरुमा पनि डिजिटल कारोबार हुने गभर्नर अधिकारीको भनाइ छ । विद्युतीय भुक्तानी सेवाको विस्तारमा बैंकहरुको पनि सहयोग रहेको उनले बताए । ‘राष्ट्र बैंक र मेरो उद्देश्य भनेको एक वर्षपछि तरकारी किन्न जाँदा क्यास बोकेर नपरोस भन्ने हो’ गभर्नर अधिकारीले भने । गत शुक्रबार नक्सालको तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको थियो । त्यसतर्फ संकेत गर्दै उनले अब गाउँ गाउँ पुगेका बैंकका शाखाहरुलाई पनि यस्तो कार्यमा आवद्ध गराउने बताए । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरु गाँउ गाँउमा आधुनिक बैंकिङ्ग सुविधा प्रदान गरिरहेको बताए । उनले राष्ट्र बैंकको नीतिलाई सहयोग गर्न संघ तयार रहेको बताए । ‘नेपालमा मोबाइलरइन्टरनेट तथा अन्य प्रविधिको प्रभावकारी विस्तारले गर्दा बैंकहरुलाई ‘ब्रीक बैंकिङ्ग’बाट ‘क्लिक बैंकिङ्ग’मा फड्को मार्न सहज हुने देखिन्छ’ उनले भने, ‘बैंकहरु यस दिशातर्फ लागि पनि रहेका छन्, जति चाँडो हामी डिजिटल च्यानलको विस्तार गर्न सक्छौं, त्यति नै चाँडो सबै खाले ग्राहक वर्गमा सहजता आई हाम्रो अर्थतन्त्रको विस्तारमा पनि सहयोग पुग्दछ ।’ अध्यक्ष दाहालले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने भिजन अनुरुप राष्ट्र बैंकको मार्गदर्शनअनुसार यसलाई अगाडि बढाउने धारणा राखेका थिए ।
प्रतिक्रिया