बचतकर्ताले पाउने ब्याज घट्यो

काठमाडौं । बैंकिङ क्षेत्रमा पर्याप्त लगानी योग्य रकम रहेको कारण बचतमा पाइने ब्याजदर निरन्तर ओरालो लागेको छ । पहिलो तीन महिनाको मौद्रिक समिक्षा गर्दै राष्ट्र बैंकले बैंकहरुलाई बचत र ऋणको व्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढि नबनाउन निर्देशन दिएको थियो । यसको अर्थ कुनै बैंकले बचत कर्तालाई ५ प्रतिशतसम्म व्याज दिदाँ उक्त बैंकले ऋण लगानी गर्दा १० प्रतिशतभन्दा बढी व्याज असुल गर्न पाउँदैन । बैंकमा ऋण लगानी नहुँदा र लगानी योग्य रकम बढ्दै गर्दा बैंकहरुले बचतको ब्याजदर २ देखि ३ प्रतिशतमा झारिरहेका थिए । यसकारण राष्ट्र बैंकले बचतकर्ताको हितको लागि बचतको ब्याजदर निर्धारण गरेको हो । राष्ट्र बैंकले उक्त निर्देशन दिएपनि बैंकहरूलाई बचतको ब्याजदर भने बढाउन परेन । बैंकहरुले त्यसअघि नै बचतमा दिने ब्याजदर घटाइसकेकाले बैंकहरूलाई यो नीतिको प्रभाव परेन् । भदौ महिनामा बचतमा साढे ८ प्रतिशतसम्म ब्याज दिएका वाणिज्य बैंकहरूले अहिले साढे ७ भन्दा कम व्याज दिएका छन् । कुनै पनि वाणिज्य बैंकले अहिले एक वर्षभन्दा कम अवधिको व्यक्तिगत बचत खातामा साढे ७ प्रतिशतभन्दा बढी ब्याज दिँदैनन् । एसबिआई बैंकले त एक वर्षे व्यक्तिगत बचतमा जम्मा ४ प्रतिशत मात्रै ब्याज दिन्छ । यता, बैंकहरुको एक सातामा बचत संकलन १२ अर्ब रुपैयाँ गरेका छन् । पुस ९ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको बचत संकलन गरेका छन् । पुस ३ गतेसम्म बैंकहरुले ३७ खर्ब १७ अर्ब रुपैयाँ बचत संकलन गरेका थिए । रेमिटेन्स आप्रवाह बढेकाले बचत संकल पनि बढ्न सहयोग पुगेको हो ।
प्रतिक्रिया