बचतकर्ताहरुले असुरक्षित महसुस गर्ने अवस्था छैन्ः अध्यक्ष दाहाल

काठमाडौं । हाल बैंकहरुको पूँजी कोषको अवस्था ८.५० प्रतिशत भन्दा माथि रहेकोले बचतकर्ताहरुले असुरक्षित ठान्नु पर्ने अवस्था नरहेको नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताएका छन् । बैंकहरुको वित्तीय अवस्थामा दबाबका बावजुद पनि पूँजीकोष माथि नै रहेकोले बचतकर्ता सुरक्षित रहेको उनले बताए । आगामी दिनमा बैंकहरुको निष्कृय कर्जा धेरै बढ्न सक्ने आँकलन गरिएको अवस्थामा उनले निक्षेपकर्तालाई भने ढुक्क हुन आग्रह गरेका छन्। अहिलेको अवस्थामा आफूसँगै अरुलाई पनि बचाउँ भन्ने मुल मन्त्रका साथ बैंकर र व्यवसायीहरु अगाडि बढ्नुपर्ने उनको तर्क थियो । उनले भने, ‘अहिले आफू बचौं र अरुलाई पनि बचाउँ भन्ने मूल मन्त्रका साथ बैंकर तथा अन्य व्यवसायीहरु अहिले अघि बढ्नु पर्ने अवस्था छ ।’ त्यस्तै, कोभिड–१९ का कारण अति प्रभावित व्यवसाय तथा व्यक्तिलाई कम प्रभावित व्यक्ति तथा व्यवसायले योगदान गर्न सरकारले करको दरमा पनि परिमार्जन गर्न सक्ने उनको अनुमान थियो । सँगै नेपालमा अधिकांश क्षेत्रहरु सञ्चालनमा आइसकेकाले अर्थतन्त्र चाँडै पुनरुत्थान हुने उनको अनुमान थियो । ‘अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएतापनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल सञ्चालनमा आएकाले आशाको संचार भएको छ,’ उनले भने, ‘व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पूनरतालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र चाँडै पुनरुत्थान हुनसक्छ ।’
प्रतिक्रिया