कोरोना महामारीले उठ्नै नसक्नेगरी थलियो पर्यटन : ७० प्रतिशत ट्रेकिङ कम्पनी बन्दको जोखिममा

काठमाडौं । कोरोना महामारी थिएन भने यतिबेला एडभेन्चर थर्ड पोल ट्रेक्सका प्रबन्धक दीपक महत धमाधम पर्यटक ल्याउने एजेन्टसँग ‘डिल’ गरिरहेका हुन्थे । विहानदेखि बेलुकीसम्म कामकै चाप हुन्थ्यो । त्यसमाथि सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधि त पर्यटक ओइरिने ‘सिजन’ नै हो । ‘यो सिजनमा घरमा खाना खान जाने फुर्सद समेत हुँदैनथ्यो,’ उनी विगतको व्यस्तता सम्झिन्छन् । सिजनमा त व्यस्तता हुने नै भयो, ‘अफ सिजन’ मा पनि कम्पुटरमा बसेर पर्यटकसँग ‘डिल’ गर्नमै व्यस्त हुन्थे उनी । ‘अफ सिजनभरी हामी पर्यटक र एजेन्टसँग डिल गथ्र्यौं, प्याकेज बनाएर बेच्थ्यौं,’ महत भन्छन् । काठमाडौंको नयाँ बजारस्थित खुसिबुँमा ३० वर्षदेखि ट्रेकिङ कम्पनी सञ्चालन गर्दै आएका महत ट्राभल एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्षसमेत हुन् । महतको ट्रेकिङ कम्पनीमा १५ जना स्थायी कर्मचारी छन् भने ६० भन्दा बढी अस्थायी । ट्रेकिङको काम बाह्रै महिना हुँदैन । महतका अनुसार अस्थायी कर्मचारी पर्यटकीय सिजनमामात्र कम्पनीमा आवद्ध हुन्छन् । अन्य समय आफ्नै काममा व्यस्त हुने उनीहरू सिजन सुरु भएपछि पुनः काममा जोडिन आउँछन् । अधिकांश ट्रेकिङ कम्पनी यसरी नै चलेका हुन्छन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा छ । महामारी फैलिएको एक वर्षयता संसारभरी नै पर्यटकको चहलपहल ठप्प छ । पर्यटक आगमन नै रोकिएपछि तिनै पर्यटकमा निर्भर व्यवसाय चौपट हुने नै भयो । व्यवसाय नै नचलेर आम्दानी ठप्प भएपछि त्यसको प्रभाव संस्थामा आवद्ध कामदारमा परेको छ ।अहिले कर्मचारीलाई काम र पारिश्रमिक दिनै धौधौ भएको महत बताउँछन् । ‘अब त आर्थिक अवस्था थेग्नै हम्मे हम्मे परिसक्यो,’ उनी भन्छन् । लकडाउनयता आम्दानी शून्यमा झर्दा संस्थाको मासिक खर्च दुुई लाख रुपैयाँ भन्दा बढी भएको महत बताउँछन् । कर्मचारी कटौती गर्ने मनस्थितिमा रहेका उनी खर्च धान्न नसक्ने स्थिति आएपछि कार्यालय नै घरमा सार्ने योजनामा छन् । उनीसँगैका कतिपय व्यवसायीले खर्च धान्न नसकेर व्यवसाय बन्द गरेका छन् भने कतिले कार्यालय घरमै सारेका छन् । रुद्राक्ष एडभेन्चर एन्ड होलिडेजका सञ्चालक कृष्णकुमार अर्याल पर्यटक आगमन ठप्प हुँदा आफ्ना धेरै सहकर्मी साथीहरू व्यवसाय नै बन्द गर्ने बाध्यात्मक अवस्थामा पुगेको बताउँछन् । आम्दानी घटेपछि उनी आफैं पनि कर्मचारी कटौती गर्ने मनस्थितिमा पुगेका छन् । पदयात्रा तथा पर्वतारोहण खुलेयता उनको ट्रेकिङ कम्पनीबाट ६० जना पर्यटक हिमाल आरोहणका लागि गए । उनका अनुसार नेपाल भ्रमणका लागि धेरै पर्यटकले चासो देखाएका छन् । तर, नेपाल आएर क्वारेन्टिनमा बस्नुपर्ने सरकारी नीतिका कारण पर्यटक नेपाल आउन मानिरहेका छैनन् ।सरकारले सहज वातावरण बनाइदिएको खण्डमा पर्यटक नेपाल आउन तयार रहेको उनको भनाइ छ । एक्स्पिडिसन हिमालयका सञ्चालक नविन त्रिताल कोरोना महामारी भएदेखि हालसम्म कम्पनीको आम्दानी शून्य भएको बताउँछन् । ‘पर्वतारोहण खुला गरेपनि पर्यटकको सुरक्षा चुनौतिका कारण व्यवसाय अघि बढाउन सकिएन,’ उनी भन्छन्, ‘आगामी सिजनका लागि भने तयारी गरिरहेका छौं ।’टानका उपाध्यक्षसमेत रहेका उनी अधिकांश ट्रेकिङ कम्पनीहरू आगामी सिजनसम्मका लागि पर्ख र हेरकै अवस्थामा रहेको बताउँछन् । पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकमा अनिश्चय बढाएको र त्यसले पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्ने उनको बुझाइ छ । साढे ९ महिनामा १६ हजार पर्यटक, घुम्न होइन, कामले आए अध्यागमन विभागका अनुसार लकडाउनयता हालसम्म १६ हजारको हाराहारीमामात्र पर्यटक नेपाल आएका छन् । कोरोना महामारीकाबीच गत चैतमा लकडाउन भएयता पर्यटक आगमन ठप्पै भयो । त्यसबीचमा जरुरी कामका लािग आउनेबाहेक अन्य पर्यटक थिएनन् । सरकारले गत १५ असोजदेखि अन्तर्राष्ट्रिय उडान र १ कात्तिकदेखि पदयात्रा तथा पर्वतारोहण खुला गर्यो । त्यसपछि भने फाट्टफुट्ट पर्यटक आउन थालेका छन् । पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए) को तथ्यांंक अनुसार कात्तिकयता करिब दुई सय ५० जनाले हिमाल आरोहण गरेका छन् । सरकारले यो वर्ष (सन् २०२०) मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो । तर, सन् २०२० को उत्तरार्धमा दुई लाख १० हजार पर्यटकमात्र नेपाल आएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएकामा कोरोना महामारीले पर्यटक आगमन स्वात्तै घट्यो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पहिलो पटक चीनमा कोेरोना भाइरसको प्रकोप फैलिएदेखि नेपालमा पर्यटक आगमन ७० प्रतिशतले घटेको थियो । गत मार्चसम्म आइपुग्दा त पर्यटन आगमन ९९ प्रतिशतले घट्यो । पर्यटन आगमन नै ठप्प भएपछि ट्रेकिङ तथा पर्वतारोहणतर्फ ५१ हजार चार सय ७० ले रोजगार गुमाएको बोर्डको तथ्यांक छ । अलपत्र राहत कोष सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत् कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्र पुनरुत्थानका लागि भन्दै ५० अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको थियो । यो कोषबाट पाँच प्रतिशत ब्याजमा ऋण लिएर श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालनका लागि उपयोग गर्नसक्ने बजेट वक्तव्यमा उल्लेख छ । तर, अहिलेसम्म पनि व्यवसायीले यो सुविधा उपयोग गर्न पाएका छैनन् । कोरोना महामारीले थलिएको पर्यटक क्षेत्र पुनस्र्थापनका लागि राहत प्याकेज माग गर्दै सम्वद्ध ११ संघसंस्थाहरूले गत २ पुसमा सरकारलाई सात दिने अल्टिमेटम बुझाएका थिए । टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार यतिबेला सरकारले व्यवसायीलाई दिने भनेको राहत कोषको माग पनि राजनीतिक घटनाक्रमका कारण ओझेला परेको छ । ७० प्रतिशत ट्रेकिङ कम्पनी बन्दको जोखिममा टानको तथ्यांक अनुसार काठमाडौं र पोखरामा गरी हाल दुई हजार ट्रेकिङ कम्पनी सञ्चालनमा छन् । कोरोना महामारी अझै साम्य भएको छैन, यो महामारी कहिले अन्त्य हुन्छ भन्ने पनि यकिन छैन । अहिलेकै पृष्ठभूमिमा आगामी दुई वर्षसम्म पनि पर्र्यटन क्षेत्र पुरानै लयमा फर्कने सम्भावना न्यून देख्छन्, पर्यटन व्यवसायी । कोरोना महामारीको परिदृष्यलाई नियाल्दा ७० प्रतिशत ट्रेकिङ कम्पनी बन्द हुने अनुमान सुवेदीको छ । ‘आगामी सिजनलाई हेरेर अहिलेसम्म त कतिपयले ऋण लिएरै भए पनि व्यवसाय धानिरहेका छन्,’ सुवेदी भन्छन्, ‘त्यतिबेलासम्म पनि पर्यटक आउने अवस्था भएन भने ७० प्रतिशत ट्रेकिङ कम्पनी बन्द हुने अवस्थामा पुग्छन् ।’ एक्स्पिडिसन हिमालयका सञ्चालक त्रिताल पनि आगामी पर्यटकीय सिजनपछि अधिकांश ट्रेकिङ कम्पनीहरू बन्द हुने अवस्थामा पुग्ने अनुमान गर्छन ।
प्रतिक्रिया