सेयर बजार ४९.१७ अंकले उकालो लाग्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से सूचक ४९.१७ अंकले बढेर २०६२ विन्दुमा पुगेको छ । आज २०८ वटा कम्पनीको ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । आज कारोबारमा आएका १२ वटा उपसमूहमध्ये दुई उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी १० वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ९.४५ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका पाँच कम्पनीको सेयर सेयर मूल्य नौं प्रतिशत भन्दा धेरैले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, मल्टिपर्पस फाइनान्स र एभरेष्ट बैंकको अग्राधिकार सेयरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.७६ प्रतिशत, रिलायन्स फाइनान्सको २.९९ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.८० प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २.७८ प्रतिशतले घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै ३४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआइसी एशियाको ३२ करोड २३ लाख, हिमालयन डिस्टिलरीको २८ करोड ६७ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका ९५ कम्पनीको शेयरमूल्य बढेको छ भने ६० कम्पनीको सेयरमूल्य घटेको छ ।
प्रतिक्रिया