पहाड खनेर खानेपानी निकालेसँगै फर्किए बसाइँ सर्नेहरु

इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सरेकाहरु पनि गाउँ फर्किन थालेका छन् । पानी निकाल्नका लागि जमिनमुनि करिब १ सय २३ मिटर खनिएको थियो, जसमा ५० मिटरबाटै पानी भेटिएको थियो । लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो । जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने/नहुनेमा द्विविधा भएतापनि नगरको परीक्षण सफल भएपछि गाउँलेहरुलाई अब पानी अभाव झेल्नु नपर्ने भएको छ । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछिन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पथ्र्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई “जीवनले काँचुली” फेरिएझैँ भएको बताउँछिन् । एक वर्षअघि दुई करोड ४७ लाख ८० हजार रुपैयाँको लागतमा बोरिङको काम शुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको थियो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउँछन् । आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्तिमध्ये थिए । उनी पनि पानीको समस्याले गाउँ छाडेर बेँसीमा बस्दै थिए । तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्य बताउँछन् ।
प्रतिक्रिया