NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

मतदानबाट अस्पताल बनाउँने ठाउँको छनोट

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँसभामा मतदानबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो । मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँसभा सदस्यको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको जानकारी दिए । ‘४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो’, उनले भने, ‘मतदानमा सहभागी ३० मध्ये २६ जनाले बेग र चार जनाले मौवाफाँटको पक्षमा मत हाल्नुभएको थियो ।’ विसं २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।