बिक्री नहुने साना सुन्तलाबाट जुस उत्पादन

जाजरकोट । सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । ग्राहकका आँखामा नपर्ने साना सुन्तला बिक्री वितरणमा कमी भएसँगै सुन्तलाबाट जुस बनाउन कृषकहरु सक्रिय भएका हुन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् । ढुवानीको सेवा भएपनि ठूला सुन्तला मात्रै बिक्री हुने हुँदा साना सुन्तलालाइ खेर जान नदिई जुस बनाउन थालिएको हो । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेत बताउँछन् । उनले भने, ‘वास्तवमा साना सुन्तला जुन बिक्री हुँदैन्, ग्राहकले किन्न मन पराउँदैनन्, त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ । जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ । तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयले अपेक्षा गरेको छ । अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओली बताउँछन् । सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्याउने अभियानमा लागेको कृषक ओलीले बताए । उनले भने, ‘सुन्तला बिक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ ।’ त्यस्तै, अर्का अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, ‘गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।’
प्रतिक्रिया