ओलीको कदमको विरोधमा छौं तर, अदालतको निर्णय मान्छौं: देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम भए पनि अदालतको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जुम मिटिङमा सहभागी भएका देउवाले सन्देश दिंदै ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक हुँदाहुदै पनि अदालतले गर्ने निर्णय सबैका लागि बाध्यकारी हुने बताएका हुन् । ‘प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अचानक चुनाव घोषणा गर्नु असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदम हो । हाम्रो पार्टी देशभर विरोधमा हिंडेको छ । देशभर विरोधको परिस्थिति बनाएको छ’, देउवाले भने, ‘लोकतन्त्रका विश्वास गर्ने पार्टी भएकोले अदालतमा विचाराधीन मुद्दामा यसो गर उसो भनेर भन्दैनौं । कसैको खिलाफमा निर्णय गराउन दबाब दिदां गलत नजीर बस्छ ।’ प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहँदा धम्काउने र तर्साउने गर्न नहुने पनि देउवाले बताए । ‘ओलीको कदम असंवैधानिक अलोकतान्त्रिक रहेकोमा दुईमत छैन’ देउवाले भने, ‘तर विचाराधीन मुद्दामा अदालतलाई कुनै किसिमको प्रभाव पार्ने किसिमले धम्क्याउन, तर्साउन हुँदैन भनेर अदालतको निर्णयलाई पर्खिनुपर्छ भनेका हौं । सरकारको कदमको विरोधमा छौं तर पनि अदालतको निर्णय पर्खिरहेका हौं । स्वतन्त्र न्यायालयको निर्णय हामीले मान्नुपर्छ ।’ लोकतन्त्रमा फरक विचार हुने भए पनि लोकतान्त्रिक हिसाबले अगाडि बढ्नुपर्ने उनको भनाई थियो । प्रधानमन्त्री केपी ओलीले सत्तामा गएर अनेक कमजोरी गरेको भन्दै त्यस्ता कमजोरी सच्याउन कांग्रेसले निरन्तर खबरदारी गर्ने उनको भनाई थियो । ‘कम्युनिष्ट पार्टी भए पनि उनीहरु प्रजातान्त्रिक मूलधारमा आएका छन् । तर, कहिलेकाँही अधिनायकवादी शैली देखाउँछन्’, देउवाले भने, ‘तर, कांग्रेस लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी भएकोले असंवैधानिक कदम चाल्नेलाई ठीक ठाउँमा ल्याउने बाटोमा हिड्छ ।’ देउवाले २०३३ साल पुस १६ मा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएपछि परिवर्तनको पक्षमा लहर देखिएको बताए । बिपीको सोही नीतिपछि नेपालमा उदारवादतर्फ अघि बढेको उनको भनाई थियो ।
प्रतिक्रिया