नौ महिनाको अनुसन्धानपछि सुन चोरीमा संलग्न समूह पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीको नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा उक्त चोरी समूहको मुख्य नाइके रहेका छन् । लामासँगै चोरी तथा लागुऔषधमा संलग्न झापा कन्काईका २५ वर्षीय सनम माझी, शिवसताक्षीका २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवादुंमा ३२ वर्षीय सन्तोष विक र ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा सिन्धुपाल्चोका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर रहेका छन् । सात जनालाई बुधबार पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो । काठमाडौँको बौद्धक्षेत्रलाई लक्ष्य गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले औंठी र सिक्री गरी ६४ तोला ३४ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदी र पाँच लाख ३३ हजार ७० रुपैयाँ बरामद गरको छ । प्रहरीले चोरीका मुख्य अभियुक्त लामा र अन्य अभियुक्तका कोठा तथा बबरको पसलबाट गरी सुनचाँदी बरामद गरेको हो । हालसम्म सुनचाँदी र नगद चोरी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त बौद्धमा नौ जनाले जाहेरी दिइसकेको कार्की बताउँछन् ।
प्रतिक्रिया