एनसीसी बैंकको साधारणसभा माघ नौ गते, लाभांश अनुमोदन र मर्जर वा एक्विजिसन मुख्य प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको साधारण सभा माघ ९ गते हुने भएको छ । बैंकले कोभिड–१९को कारण साधारणसभा अनलाइनबाटै गर्ने भएको बताएको छ । बैंकले सभामा १०.२६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव लैजाँदै छ । यसबाट ९६ करोड ५ लाख रुपैयाँ बराबर चुक्ता पुँजी बढ्ने छ । बैंकले कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । सभामा बैंक गाभ्ने र गाभिने वा प्राप्ती (मर्जर वा एक्विजिसन)को प्रस्ताव पनि लगिँदैछ । केहि समय अगाडी एनसीसीलाई नबिल बैंक गाभ्ने तथा गाभिने प्रयास भइरहेको भन्ने कुरा चलेको थियो । नबिलले ३० रुपैयाँ र एनसीसीले ४० रुपैयाँ मागिरहेको सेयर बजारमा कुरा चलेको थियो । यही कारण एनसीसी बैंकको सेयर मूल्य निरन्तर बढिरहेको छ । तर, दुबै बैंकले गाभ्ने तथा गाभिने भन्ने बिषयमा केहि कुरा बाहिर ल्याएका छ्रैनन् । एनसीसी बैंकमा ४९ प्रतिशत सेयर सर्वसाधारणको छ । संस्थापकतर्फ सबैभन्दा बढी सेयर नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको ३.६९ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । यस बैंकमा साङ्ग्रिला इन्भेष्टमेन्ट प्रालिको ३.२५ र एनबी ग्रुप नेपाल प्रालिको ३.१५ प्रतिशत सेयर छ । बैंकका अनुसार कम्पनीमा मुख्य संस्थापक सेयर २१ जना व्यक्ति तथा संस्थासँग रहेको छ । सर्वसाधारणमा रहेको सेयरमध्ये चार वटा सामूहिक लगानी कोष कम्पनीहरुसँग छ । यसमध्ये तीन वटाले मंसिरमा आएर लगानी अझ बढाएका छन् ।
प्रतिक्रिया