NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

टेकुको पुल बनाउँदा एक करोड १५ लाख भ्रष्टाचार, निमित्त आयोजना प्रमुखसहित पाँचविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको टेकुमा पुल निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौं दिगो शहरी यातायात आयोजना अन्तर्गत निर्माण भइरहेको पुलमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख वेलबहादुर नेपालीसहित पाँच विरुद्ध मुद्दा दायर गरेको हो । जेटआईइसी–पप्पु संयुक्त उपक्रममा निर्माण भएको यो आयोजनामा निर्माण कम्पनीविरुद्धसमेत मुद्दा दायर गरिएको छ । कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा ठेक्काको तेश्रो चोटीको लागि म्याद थप सिफारिस गरेको र त्यसैका आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गएको आयोगको आरोपपत्रमा उल्लेख छ । ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आयोजना इकाइको तर्फबाट टिप्पणी उठाई ठेक्काको तेश्रो चोटीको लागि म्याद थप सिफारिस गरेको र सोही सिफारिसको आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानिनोक्सानी हुन गएको भन्दै आयोगले तत्कालीन निमित्त आयोजना प्रमुख नेपालीविरुद्ध एक करोड १४ लाख ७६ हजार बिगो कायम गरेको छ । त्यस्तै, ठेक्काको म्याद थप गर्ने सिलसिलामा गलत टिप्पणी उठाई सिफारिस गरेको देखिएको र सोही आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई हानी पुगेको भन्दै आयोगले तत्कालीन लेखा अधिकृत नारायण बहादुर थापाविरुद्ध पनि एक करोड १४ लाख ७६ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । ठेक्का तोड्ने र कालोसूचीमा राख्ने जस्तो महत्वपूर्ण कारवाहीको शुरु टिप्पणीमा एक करोड ७२ लाख १४ हजारको कार्यसम्पादन जमानतको रकम र सोको म्याद मात्र उल्लेख गरेको देखिएको, तर सोही ठेक्काको कार्यसम्पादन जमानतको सम्बन्धमा भने केही उल्लेख नगरेको कारण सोही आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गएको आरोपमा तत्कालीन लेखापाल गिरी प्रसाद श्रेष्ठविरुद्ध पनि समान बिगो कायम गरी मुद्दा दायर गरेको छ । उस्तै आरोपमा अर्का तत्कालीन लेखा अधिकृत श्याम बहादुर खत्रीविरुद्ध पनि समान बिगो कायम गरी मुद्दा दायर गरेको छ । त्यस्तै, जेटआईइसीका प्रतिनिधि जेङ जुन्यान र उक्त ठेक्काका अख्तियारनामा सुमित रौनियारसमेतले ठेक्का म्याद थप माग गर्दा कार्यसम्पादन जमानत नवीकरण गरी ल्याउनुपर्नेमा एक करोड ७२ लाख १४ हजारको कार्यसम्पादन जमानतको मात्र नवीकरण गरी ल्याई सोहीअनुसार म्याद थप गराई कार्यसम्पादन जमानत फुकुवा गरी लगेको भन्दै आयोगले दुवैविरुद्ध एक करोड ७२ लाख १४ हजारको बिगो कायम गरेको छ । जेटआईइसीका प्रतिनिधि जेङ जुन्यान विदेशी नागरिक भएकाे, तर उनी अहिले नेपालमा नरहेकाे र फेला पर्नेवित्तिकै मुद्दा चलाउनेगरी हाल निर्माण कम्पनीका अर्का साझेदार रौनियारलाईमात्र प्रतिवादी बनाइएको छ ।