NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

वर्ष २०२०ः हवाइ क्षेत्रले गुमायो साढे १७ अर्बको आम्दानी

काठमाडौं । कोरोना महामारीका कारण यस वर्ष अन्तर्राष्ट्रिय उडानतर्फको यात्रु आवगमनमा कमी आउँदा वायुसेवा कम्पनीले साढे १७ अर्बको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसमा नेपाल वायुसेवा निगमले मात्रै ५ अर्बको आम्दानी गुमाएको छ । आन्तरिकतर्फका वायुसेवा कम्पनीहरुले करिब १० अर्ब ३२ करोड र हिमालय एयरलाइन्सले दुुई अर्ब बराबरको आम्दानी गुमाएको छ । त्यस्तैगरि प्राधिकरणको गत मार्चदेखि नोभेम्बरसम्मको आम्दानीको अवस्थामा गत वर्षको तुलनामा ५० प्रतिशतले गिरावट आएको छ । सोही अवधीको गत वर्षको तुलनामा ५ अर्ब ६९ करोडले आम्दान घटेको प्राधिकरणले जनाएको हो । विश्वव्यापी रुपमा वायुसेवा कम्पनीहरुले यस वर्ष करिब ३ खर्ब ९१ अर्ब अमिरिकी डलर बराबरको आम्दानी गुमाएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण(आइकाओ) ले जनाएको छ । यात्रु आवागमनमा कमी नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्यांकअनुसार यस वर्ष आन्तरिक भन्दा अन्तर्राष्ट्रिय उडान झनै प्रभावित बन्यो । गत वर्ष अन्तर्राष्ट्रिय उडानतर्फ कुल ४१ लाख ३८ हजार, ४ सय ८२ को यात्रु आगमन रहेको थियो । सन् २०२० मा यो संख्या १० लाख ३९ हजार ३ सय २२ रहेको छ । जुन गत वर्षको तुलनामा ७२ प्रतिशतले कम हो । त्यस्तैगरि आन्तरिकतर्फको उडानमा यात्रु आवागमनको संख्या ३४.७३ प्रतिशतले कमी आएको प्राधिकरणले जनाएको छ । कोभिड महामारीका कारण गत मार्चमा लकडाउन भएपछि नोभेम्बरसम्म यात्रु आवगमन अवस्थ्या हेर्दा गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय उडानतर्फ ८६प्रतिशत र आन्तरिकतर्फ ७३ प्रतिशत हवाई यात्रुको संख्या घटेको छ ।