काण्डैकाण्डका खातमाथि प्रदेश राज्य मन्त्री गुरुङ

प्रदेश नं. एकका भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिर बाबु गुरुङका काण्डमाथि काण्डको फेहरिस्त हेर्दा यस्तो लाग्छ, उनले गर्ने ‘धन्दा’ केही बाँकी छैन् । तर, नेताहरूका लागि यस्तै ‘दागी’ प्रिय छन् । प्रदेश नंं. १ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत दुई निकायले एक खानेपानी योजनामा रु. ५ करोड ४२ लाख २४ हजारको काम ४ उपभोक्ता समितिबाट गराएको छ । एक करोडभन्दा बढी लागत अनुमान भएको योजनाको काम बोलपत्रमार्फत गराउनु पर्नेमा उपभोक्ता समिति मार्फत गराएको नियम संगत देखिएन । प्रदेश नं. १ भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत ३ निकायले रु. ३३ करोड १८ लाख १९ हजार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगतका ४ कार्यालयले रु. १५ करोड २१ लाख ३८ हजारका जटिल प्रकृतिका कार्य उपभोक्ता समिति मार्फत गराएका छन् । भौतिक पूर्वाधार संरचना निमार्ण कार्य व्यवसायिक र अनुभवी निर्माण व्यवसायीबाट प्रतिस्पर्धा गराउनु पर्नेमा उपभोक्ता समिति मार्फत गरेको नियम संगत देखिएन। महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन, पृष्ठ ५०९, बुँदा नम्वर ५३ मा उल्लेख शब्दावली हुन् यी । महालेखापरीक्षकको कार्यालयले अनियमिता ठहर गरेको यस मन्त्रालयको जिम्मेवारी मुख्य मन्त्री शेरधन राई स्वयंले सम्हालेका छन् भने राज्यमन्त्री अम्बिर बाबु गुरुङ । प्रदेश सभा निर्वाचनमा गुरुङ ओखलढुङ्गाको निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका थिए । मुख्य मन्त्री राईले गुरुङलाई ५ माघ ०७६ मा राज्यमन्त्रीको तालाचावी सुम्पिएका थिए । त्यसअघि यस मन्त्रालयको हर्ताकर्ता राई आफैं थिए । गुरुङ निर्वाचित भएको जिल्ला ओखलढुङ्गादेखि काठमाडौंसम्म उनको दवदवा कतिसम्म छ भने सर्वसाधारणदेखि राजीतिज्ञहरू उनका अनेकन धन्दाका चाङबारे फेहरस्ती खुलाउँछन् । जिल्ला अदालत काठमाडौं बबरमहलदेखि सर्वोच्च अदालत राम शाहपथसम्म उनीबिरुद्ध मुद्दाका फाइल छन् । तर, मुख खोलेर बोल्न कोही पनि तयार छैनन् । ओखलढुङ्गाका एक गाउँपालिका अध्यक्ष भन्छन्, ‘गुरुङसँग राजनीतिक संस्कृति कम छ । उनको वरिपरी राजनीतिक पात्रभन्दा व्यवसायिक डनहरु छन् । त्यसैले उनीसँग आमुन्ने-सामुन्ने भएर बोल्न-लेख्न जो कोही डराउँछन् ।’ भनिरहनै परेन, यसबेला मुलुकको राजनीति नै व्यवसायिक ‘डन’ हरुको खोपीबाट सञ्चालित छ । महालेखापरीक्षकको कार्यालयले खुट्याएको अनियमिताबारे गुरुङ अहिलेसम्म आफूले त्यस्तो प्रतिवेदन नपाएको बताउँछन् । ‘त्यस्तो अहिलेसम्म आएको छैन । काम भएको ठाउँमा अलिअलि होला । खासै त्यस्तो नेगेटिभ कुरा छैन । त्यो भन्दा अघि भयो होला । म आएपछि छैन् । (स्मरणीय छ, गुरुङभन्दा अघि यस मन्त्रालयको मन्त्री मुख्य मन्त्री राई नै थिए) म आएपछि एउटा सिष्टम-विधिभित्र लगेको छु । सिष्टम लागू गरेको छु । त्यस्तो वेथिती भएको छैन्’, राज्यमन्त्री गुरुङले नेपालवाचसँग भने, ‘त्यो भन्दा अगावै दुई वर्ष अघि भएको कुरा त म जान्दिन । अहिले म आइसकेको एक वर्षको अन्तरालमा त्यस्तो कहिँ केही पनि भएको छैन् । भएकोलाई मैले कारवाही गरेको छु । मेरोमा त्यस्तो छैन ।’ थप्छन्, ‘म आउन वित्तिकै वान डोर सिष्टम लागू गरेको छु । व्याक डेटहरु, व्याक डोरबाट छिराएको, झ्यालबाट छिराएको डकुमेन्ट हुन्छ नि । ति कसैको काम भएको छैन । पुरै वेथितीहरुबाट बञ्चित गरेर काहिँ केही भएको छैन । भएको–गएकाहरु छन्, भएको–गएकाहरुलाई कारवाहीको दायरामा लगेर कारवाही गरिएका छन् । हाम्रोबाट त्यस्तो केही भएको छैन ।’ गुरुङको यो प्रटोक्तीले के बताउँछ भने उनले कि त महालेखाको प्रतिवेदन पढेका छैनन, कि जाने, बुझेर पनि दिउँसै रात पार्न चाहन्छन् । गुरुङले आफू आएको एक वर्षको अन्तरालमा त्यस्तो कहिँ पनि केही पनि भएको छैन्’ भनेपनि महालेखापरीक्षकको कार्यालयले उतारेको अनियमितताको फेहरस्ती अस्ति असार मसान्तसम्मको हो । को हुन् अम्बिर बाबु गुरुङ ? ओखलढुङ्गाको साविक रुम्जाटार गा.वि.स. वडा नं. ९ मा २०२२ सालमा जन्मिएका हुन्, गुरुङ । उनका बाबु रुम्जाटारको प्राथमिक विद्यालयका अंग्रेजी शिक्षक थिए । यद्यपि गुरुङका समवयीहरुलाई उनले एसएलसी पास गरेर क्याम्पस पढेको जानकारी छैन । गुरुङ माध्यामिक तह पढ्दा पढ्दै राजधानी काठमाडौं हानिए । त्यसपछि उनको संगत यस्ता मान्छेहरुसँग भयो, जसको नालीबेली उतार्दा मोटो फिल्मी उपन्यास नै बन्छ । उनले सडक, तत्कालीन राजदरवारदेखि हरेक राजनीतिक पार्टीहरुसँग उठबस्-लेनदेन नगरेको ठाउँ नै छैन् । कतिसम्म भने गुरुङले नगरेको धन्दा केही छैन् । गुरुङले राजेशराज वर्मासँग फिल्मी शैलीमा जग्गा बैना काण्डको ठगी गरेको प्रमाण हातमा परेपछि नेपालवाचले तीन महिनाभन्दा बढी समय उनका बारेमा खोजविन गरेको थियो । उनकै जन्मथलो रुम्जाटार र उनीबारे जानकार डेड दर्जन बढी व्यक्तिहरुसँग संवाद गरेको थियो । अपवाद पात्र पनि उनलाई इमान्दार भन्ने भेटिएनन् । गुरुङबारे जानकार रुम्जाटारकै एकजना अगुवा राजनीतिकर्मीका अनुसार १२–१८ माघ २०५४ मा नेपालगञ्जमा भएको तत्कालीन नेकपा एमालेको छैटौं राष्ट्रिय महाधिवेशन अघि उनले जिल्लाबाट पार्टीको संगठित सदस्यता लिन खोजेका थिए । तर, आचरणको कारण देखाउँदै तत्कालीन सचिव पेशल खतिवडा, किशोर अधिकारी, छवी कार्कीलगायतले उनलाई संगठित सदस्यता दिएनन् । त्यसबेला गुरुङलाई संगठित सदस्यता दिनु हुन्न भन्ने मध्येका किशोर अधिकारीका अनुसार निवेदन परेको थियो । बीचमा ‘ग्याप’ परेर बाहिर गएका थिए । त्यसैले छुटेको थियो । असार ०७० मा भएको तत्कालीन नेकपा (एमाले) को नवौं महाधिवेशनमा ओली समुहबाट केन्द्रीय सदस्य निर्वाचित अधिकारी नेपालवाचसँग भन्छन्, ‘त्यति बेला निवेदन स्वीकृत भएको थिएन । तर, उता (माले) तिर गएपछि अगाडीकै मिति राखेर लिए । गुरुङ पार्टीमा ०४७ सालदेखि नै आएका हुन्। ०४८ को निर्वाचनमा मदन भण्डारीलाई मत माग्न पनि हिडेका हुन् । तर, यिनको उतारचढाव ठूलो छ ।’ यसबेला अधिकारी र गुरुङ दुवै केपी ओलीको समुहमा छन् । त्यसैले पनि अधिकारी गुरुङका बारे केही बताउन चाहँदैनन्। २९ फागुन ०५३ मा तत्कालीन एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन भएको थियो । त्यस सरकारमा एमालेका तर्फबाट बामदेव गौतम उपप्रधान र गृहमन्त्री थिए। यसबेलासम्म गुरुङले गौतमसँग मजबुत पहुँच बनाई सकेका थिए। गौतमको त्यस कार्यकालमा विमानस्थलबाट खुलमखुला सुन ‘तस्करी’ भएको विषय नेपाली राजनीतिमा स्थापित छ। जानकारहरु कतिसम्म दावी गर्छन भने सुन तस्करी गर्ने त्यो समुहमा गुरुङ पनि समावेश थिए।०५६ कोे संसदीय निर्वाचनमा गुरुङले ओखलढुङ्गा क्षेत्र नं. १ बाट नेकपा (माले) को आधिकारिक उम्मेदवार हुन चाहेका थिए । तत्कालीन मालेका ओखलढुङ्गा जिल्ला कमिटी सचिव पेशल खतिवडाका अनुसार जिल्ला पार्टीले केन्द्रमा नाम पठाएको पनि थियो । तर, सहना प्रधान, सिपी मैनालीले गुरुङको छवी एकदमै विवादास्पद र शंकास्पद भएकाले आधिकारिक टिकट दिन मानेनन् । महासचिव गौतमको समेत केही चलेन । ओखलढुङ्गाका तत्कालीन सचिव खतिवडा भन्छन्, ‘त्यसबेला गुरुङलाई हामीले त टिकट दिएका हौं । सहाना प्रधान, सीपी मैनालीहरुले नै नदिएका हुन् ।’ गुरुङले स्वतन्त्र उम्मेदवारी दिए । माले नेतृत्वले त्यहाँ पेशल खतिवडालाई उम्मेदवार हुन सुझाव दिएको थियो । खतिवडा उम्मेदवार हुन इच्छुक भएनन । उम्मेदवार कोही नभएपछि महासचिव गौतमको निर्देशनमा अन्त्यमा गुरुङलाई नै मालेको तारा चिन्ह उपलब्ध गराइयो । तत्कालीन मालेको ‘व्यानर’ मा ओखलढुङ्गा क्षेत्र नम्वर १ बाट निर्वाचन लडेर गुरुङले करिब २३ सय मत प्राप्त गरे । यता माले शुन्य सिटमा चित्त बुझाउन बाध्य भयो । मालेबाट कमाउ नीति दिगो नहुने निश्कर्षपछि गुरुङ नेपाली कांग्रेसका तत्कालीन जल्दाबल्दा नेता खुमबहादुर खड्काका पछि लागे । जानकारहरुका भनाईमा खड्कासँग नजिक भएपछि धोजेन्द्र गौचनसहितको टीमसँग मिलेर अवैध रुपमा सुन ओसारपसारमा संलग्न भए । उनी त्यो धन्दामा त्यसअघि गौतम गृह मन्त्री हुँदै पारंगत भइसकेका थिए । यही समयमा उनले त्रिपुरेश्वरमा डान्स बार समेत चलाए । हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ त्यसबेला नेपाल विद्यार्थी संघको अध्यक्ष थिए । त्यसबेला नेपाल विद्यार्थी संघको सम्वन्ध युरोपियन देशसँग थियो । राजुराज जोशी, रामहरी खतिवडालगायत २८ जना युवाहरुलाई ने.वि. संघका अध्यक्ष धनराज र अम्बिरले ति देशमा घुमाउन लगेका थिए । जसमध्ये धनराज, अम्बिर, राजुराज। रामहरीसहित ८ जना मात्र फर्किए । २० जना उत्तै लुकेका थिए। २० जनाबाट मोटो रकम लिएर उत्तै बस्ने ‘सेटिङ’ गुरुङद्धयले मिलाएका ति नेताको भनाई छ । खतिवडा आफूहरु घुम्न गएको र जसमध्ये थोरै मात्र फर्किएको स्वीकार गर्छन । तर, त्यसभित्रको अन्तर कथा आफूलाई थाहा नभएको खतिवडाको भनाई छ । नेपाली कांग्रेसका अर्का एक जना नेताका अनुसार त्यसबेला धनराज र अम्बिरले स्याङ्जाबाट निर्वाचित तत्कालीन स्वास्थ्य राज्य मन्त्री रामचन्द्र अधिकारीको रातो पासपोर्ट लिएका थिए । यही पासपोर्ट काण्डले अधिकारीको मन्त्री पद गयो । त्यसबेला गोविन्दराज जोशी गृह मन्त्री थिए । जोशीले उनीहरुलाई रातो पासपोर्ट बिक्री गरेवापत कानूनी कारवाही गरेका थिए । यो मुद्दा सर्वोच्च अदालतमा समेत परेको थियो । ओखलढुङ्गाका एक जना पूर्व जनप्रतिनिधिका अनुसार गुरुङले यो मुद्दा हारेका छन् । तर, फाईल फेला परेको छैन । पारससँग पहुँच गुरुङले तत्कालीन राजदरवारसँग पनि निकट सम्वन्ध बनाएका थिए, खासगरी तत्कालीन शाहज्यादा पारस शाहसँग । उनलाई दरवारसँग सम्वन्ध जोड्न किन पनि सजिलो भयो भने पारसका हजुरबुबा अर्थात राजा महेन्द्रले रुम्जाटारकै गुरुङसेनीलाई भित्रिया बनाएका थिए। जसबाट जन्मेका छोरा रवी शाहको केही वर्ष अघि मात्र निधन भएको छ। त्यसमाथि रुम्जारटारका नवराज गुरुङ पञ्चायतकालमा अञ्चलाधीश भएका थिए । अवसर लिन माहिर अम्बिर त्यही फेरो समाएर दरवार निकट पुगेका थिए । २२ साउन ०५७ राती ९.४५ बजे निजी नम्वर प्लेटको गाडीले किचेर त्यसबेलाका ख्याती प्राप्त गायक प्रविण गुरुङ मारिएका थिए । त्यसको दुई दिनपछि तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीले किचेर गुरुङको हत्या गरेको सार्वजनिक भयो । यो घटना बिरुद्ध दिवंगत पूर्वमन्त्री रबिन्द्र अधिकारी नेतृत्वको अनेरास्ववियुले सडक ततायो । सडकमा साहित्यकार, कलाकर्मी सबै आए । पारस शाह बिरुद्ध कारवाहीको माग गर्दै ५ लाख २३ हजारको हस्ताक्षर गरेर २ भदौमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाइयो । प्रविण गुरुङ मारिएको १३ दिनमा उनकी श्रीमती शान्ति गुरुङले पत्रकार सम्मेलन गरेर आफ्ना पतिको हत्या पारस शाहले गरेको नभई चालक कुमार भनिने खड्ग भुजेलले गरेको र आफूले मनग्गे क्षतिपूर्ती पाइसकेको बताइन । ओखलढुङ्गा सिनपा वडा नंं ११ गैरीगाउँमा गरिब परिवारमा जन्मिएका भुजेलले कसरी शान्तिलाई मनग्गे क्षतिपूर्ती दिन सके ? यो कुरा रहस्यमै थियो, त्यसबेला ।कालान्तरमा पारस शाहका पक्षमा अमिर गुरुङले नै कुमार नामले परिचित खड्गलाई नक्कली चालक खडा गरेको भेद खुल्यो । सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरेर जेल मुक्त भएका भुजेल यसबेला गुरुङकै चालक छन् । ‘त्यसबेलाको सबै हर्ताकर्ता उही ‘(अमिर) नै हो नि’, यस काण्डबारे जानकार रुम्जाटारमै जन्मिएका नेपाली सेनाका एक उच्च अधिकारी भन्छन् । पूर्व जनप्रतिनिधि एवं नेपाली कांग्रेस ओखलढुङ्गाका नेता रामहरी खतिवडा समेत कुमार भनिने खड्ग भुजेलले नै अहिले राज्य मन्त्री गुरुङको गाडी चलाई रहेको बताउँछन् । ‘कुमार भनिने खड्ग भुजेल अहिले पनि अम्बिर गुरुङका निजी चालक छन् । म उनलाई राम्रो चिन्छु । उनको स्थायी घर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका गैरी गाउँ हो’, खतिवडा नेपालवाचसँग भन्छन्, ‘भुजेल मलाई सम्मान गर्छन । म पनि भुजेललाई सम्मान गर्छु ।’ यद्यपि ज्याद्रो स्वभावका राज्य मन्त्री गुरुङ भुजेललाई नचिनेको बहाना मात्र बनाउँदैनन् । त्यो प्रकरण बारे कुरै गर्न पन्छिए । गुरुङले नेपालवाचसँग भने, ‘तपाईहरुले जे मन लाग्यो, त्यही भनेर त कहाँ हुन्छ र ? यथार्थमा आधारित हुनु पर्यो नि सर । तपाईहरुलाई कसले के भन्यो, त्यतातिर नजानुस् न हेत्तेरे । तपाईहरु जस्तो एउटा प्रतिष्ठित मिडिया भइसकेपछि त्यतातिर जानुहुन्छ ? कहाँ खड्गबहादुर को भन्नु हुन्छ मलाई के थाहा ? त्यतातिर नजानुुस् है प्लिज । सही कुरा भन्नुस्, सही कुरा सोध्नुस् ।’ गुरुङले थप सुझाव दिए, ‘विकासका लागि समृद्धिका लागि कति काम भएको छ, त्यतातिर सोध्नुस् न । जे मन लाग्यो, त्यही लेखेर त के अर्थ हुन्छ र ? भन्नुस् त, विकासमा कति काम भएको छ ? आउनुस्, तपाईलाई स्वागत छ । यहीँ विराटनगरमा आउनुस् । छलफल गरौला है ओ के ?’ थप कुराकानी नपाउँदै गुरुङले फोन काटे । तीन वटा घरजम गुरुङले बिहे समेत तीन वटा गरेका छन् । २० वर्षे उमेर नकट्दै रुम्जाटारकै स्थानीयसँग पहिलो प्रेम बिबाह गरेका थिए । जसबाट एक छोरा र एक छोरी जन्मिए । गुरुङले दोस्रो घरजम खोटाङको बुइपा जन्मथलो भएकी अर्की गुरुङसेनीसँग गरे । जसको नाम नै सुन्दरी थियो । उनी रुपवती त थिइन नै, एक जना भारतीय सेनाको श्रीमती समेत थिइन । भारतीय सेनाको श्रीमती जिप्ट्याएका गुरुङ दम्पतीबाट दुई छोरी जन्मिए । यसपछि गुरुङ एक नेवार कन्यास“ग सल्किएर उनलाई भित्रयाए । तेस्री श्रीमतीबाट एक छोरा–छोरी दुई सन्तान छन् । यो औपचारिक रुपमा घरमा भित्रयाएको प्रमाण मात्र हो । गुरुङबाट अपहेलनाको मार खेपेकी जेठी श्रीमतीको निधन भइसकेको छ । उनीतर्फका दुवै सन्तान अमेरिकामा बस्छन् । कानन्छी भित्रयाएपछि विरक्तिएकी माइली श्रीमतीले पनि गुरुङलाई साथ दिइनन् । जेठी श्रीमतीबाट जयजन्म नभएका एक जना ब्रिटिस आर्मीस“ग घरबार जोडिन । उनका ब्रिट्रिस आर्मीतिरबाट दुई छोरा जन्मिएका छन् । जसले कपन क्षेत्रमा घरबार जोडेर आरामदायी जीवन काटिरहेकी छन् । गुरुङ चाहि तेस्री पत्नीका साथ चावहिलको ओम अस्पताल नजिकै बसोबास गर्छन । सशस्त्र द्धन्द्धकालमा तत्कालीन माओवादीलाई हतियार दिएको भेट्टाएपछि गुरुङलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर केही समय महाराजगञ्जस्थित भैरवनाथ गणमा समेत राखेको थियो । एकातिर गुरुङले माओवादीलाई पेस्तोल उपलब्ध गराएको सूचनापछि सेनाले पक्राउ गरेको थियो भने अर्कातिर सेनाकै एक उच्च परिवारको २५ लाख रुपैयाँ चलाएर फिर्ता नगरेपछि उनलाई पक्राउ गरिएको उच्च स्रोतको दावी छ । गुरुङलाई जोगाउन जागिर नै दाउमा राखेका ओखलढुङ्गाकै सेवा निवृत उच्च सैन्य अधिकारी नेपालवाचसँग भन्छन्, ‘त्यो बेलामा के–के रिक्स मोलेर जोगाईयो, जोगाईयो नि ! त्यसको कुरै नगरौ ।’ ०६२-०६३ को आन्दोलन सफल भएपछि गुरुङले ओलखढुङ्गाकै माम्खा रुपनालु जन्मथलो भएका तत्कालीन एमालेका नेता इश्वर पोखरेलसँग पहुँच बढोत्तरी गरे । पोखरेल र गुरुङको जन्मथलो ठोट्ने खोला वारिपारी पर्छ । जानकार त के सम्म भन्छन् भने पोखरेलले पछिल्ला वर्षमा धापासीमा २३ आनामा बनाएको घरको जग्गा नै गुरुङले मिलाई दिएका हुन् । पोखरेलकै निगाहबक्सबाट गुरुङले प्रदेश सभाका लागि ओखलढुङ्गाबाट टिकट पाएका थिए ।हाल प्रचण्ड–माधव नेपाल समुहको नेकपाका नेता पेशल खतिवडा नेपालवाचसँग भन्छन्, ‘गुरुङका बारेमा मैले के भनौं र ? उनका धन्दा अनेकौ छन् । गुरुङ नेताहरुको आर्थिक व्यवस्थापन गरि दिने राम्रै सहयोगी हुन् । त्यही भनेर बुझ्छु म ।’ स्रोतका अनुसार शेरधन राईलाई मुख्य मन्त्री बनाउन भीम आचार्यका बिरुद्ध प्रदेश सांसदहरु उभ्याउन गुरुङले सबैभन्दा पहिलो भूमिका निर्वाह गरेका थिए । जसका लागि साम, दाम सबै प्रयोग गरिएको त्यही बेला सतहमा आइसकेको छ । त्यसैको परिणाम राईले गुरुङलाई आफू मातहत मन्त्रालयको राज्य मन्त्री बनाएका हुन् । राज्य मन्त्री बन्नु अघि गुरुङले मोटर साईकल कारखाना, ट्वाइलेट उद्घाटन गर्न समेत राईलाई ओखलढुङ्गा–सोलुमा हेलिकोप्टरमा सयर गराएका थिए । खड्ग भुजलेको प्रसंगमा कुरा गर्दा गर्दै गुरुङले मोवाइल फोन काटेपछि अन्य विषयमा थप संवाद हुन सकेन । करिव डेड वर्ष अघि, जुनबेला गुरुङ प्रदेश राज्य मन्त्री भएका थिएनन । रुम्जाटारस्थित आफ्नै घरमा ओखलढुङ्गा, सोलुखुम्बू र खोटाङलगायतका जिल्लालाई लक्षित गरी स्कोरपियो गाडीको ‘डिलर र ग्यारेज’ संञ्चालनमा ल्याएका थिए । आफ्नो डिलर-ग्यारेज उद्घाटन गर्न उनले मुख्य मन्त्री राईलाई हेलिकोप्टरमा रुम्जाटार पुर्याएका थिए । निजी ग्यारेज उदघाटन गर्न मुख्य मन्त्री हेलिकोप्टरमा सयर भनेर त्यसबेला अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । तर, गुरुङको मोह पासमा परिसकेकाले राईले त्यो आलोचनाबाट सबक सिकेनन । शक्तिको दुरुपयोग गर्ने क्रम यसपछि पनि बढ्दै गयो । अझै कति समय बढ्ने हो त्यो आगामी दिनले नै देखाउँला ।
प्रतिक्रिया