संवैधानिक आयोगको नियुक्तिप्रति सिंहको आपत्ति

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंह विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संसदीय सुनुवाई नभएको बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिप्रति उनले असहमति जनाएका हुन् । ‘असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित (म नै संविधान हूँ) भन्ने दम्भ उजागर भएको छ’ सिंहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो । त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो ।’ संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने भन्दै सिंहले भनेका छन्, ‘७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको छ । अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ ।’ सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको उनको भनाई छ । ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ । संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।’ सिंहले भनेका छन् ।
प्रतिक्रिया