NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

भ्रष्टाचार नियन्त्रणमा नागरिकलाई भरोसा दिलाउने नवनियुक्त प्रमुख आयुक्त राईको प्रतिवद्धता

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको साखलाई अझै उचाईमा पुर्याउने प्रतिवद्धता छन् । बुधबार टंगालस्थित अख्तियारको मुख्यालयमा पदभार ग्रहण गर्दै राईले निर्देशनसहितको मन्तव्य दिँदै आयोगको साखलाई अझ उचाईमा पुर्याउने बताएका हुन् । मुलुक र जनताप्रति इमान्दारिता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने उनले बताए । विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाई छ । आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना र भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको बताए । सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नँया उचाईमा पुर्याउने विषयमा आफू सँधै क्रियाशील रहने प्रतिवद्धता उनले व्यक्त गरे । आफ्नो अभियानमा सबै सरोकारवालाहरुको साथ सहयोग रहने विश्वास समेत उनले व्यक्त गरे । कार्यक्रममा आयोगका आयुक्त माननीय डा. सावित्री थापा गुरुङले नवनियुक्त प्रमुख आयुक्त र आयुक्तज्यूहरूलाई आयोगमा स्वागत गर्दै आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोगआफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । नवनियुक्त आयुक्त जय बहादुर चन्दले राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा टिम भावनाका साथ गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने पवित्र कार्यको सहयात्री हुन पाउँदा गौरवान्वित महशुस गरेको उनको भनाई थियो । आयुक्त किशोर कुमार शिलवालले आयुक्तको रुपमा आफ्नो भूमिका समन्वयकारी रहने बताए । आफुले विगतमा न्याय सम्पादन क्षेत्रमा प्राप्त गरेको अनुभवलाई आयोगको काम कारवाहीमा सदुपयोग गर्ने उनको भनाई थियो ।

ताजा अपडेट

नेपालवाच विशेष