NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

सरकारकै आग्रहमा चलेका सवारी साधनमाथि आन्दोलनकारीको तोडफोड र आगजनी : के हुन्छ क्षतिपूर्ति ?

काठमाडौं । नेकपाको प्रचण्ड – माधव नेपाल खेमाले आयोजना गरेको आम हड्तालमा बिहीवार केही सवारी साधनमाथि आगजानी र तोडफोड भएका छन् । आज बिहानै काठमाडौंको गांगबुमा आन्दोलनकारी समूहले एउटा ट्याक्सी आगजनी गरे । आन्दोलनकारीहरू प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै, काठमाडौंकै मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा आन्दोलनकारीले तोडफोड गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार नै आमहड्तालको सार्वजनिक घोषणा गरेको थियो ।नेकपाको उक्त समूहले अघिल्लो दिन नै आमहड्ताल घोषणा गरे पनि त्यसलाई चुनौति दिँदै गृह मन्त्रालयले बुधवार नै अर्को विज्ञप्ती जारी गर्‍यो । गृह मन्त्रालयले बन्द रोक्ने सुरक्षा प्रबन्ध मिलाइने भन्दै निर्धक्क एवं पूर्ववत् रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न विज्ञप्तीमार्फत् अपिल गरेको थियो । ‘नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंशात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्वद्ध पक्षसँग गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जवरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारवाही गर्ने चेतावनी गृह प्रशासनले दिएको थियो । गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको थियो । ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरूलाई निर्धक्क एवं पूर्ववत् रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय आर्दिक आग्रह गर्दछ ।’ गृह मन्त्रालयकै आग्रह बमोजिम बिहीवार विहान सडकमा फाट्टफुट्ट सवारी साधन चलेका थिए । तर, ती सवारी साधनलाई आन्दोलनकारीले निसाना बनाए । केही सार्वजनिक र निजी सवारी साधनमाथि तोडफोड र आगजनी भए । यसरी सरकारकै आग्रहमा चलेका सवारी साधनमाथि आगजनी र तोडफोड हुँदा त्यसको जिम्मेवारी र सवारी साधनको क्षतिपूर्ति सरकारले दिन्छ कि दिँदैन भनेर नेपालवाचले गृह मन्त्रालयलाई सोधेको थियो । नेपालवाचको प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले आगजनी र तोडफोड भएका सवारी साधनका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । दोषी पहिचान गरी कानुनी कारवाही गरिने पनि उनले बताए । त्यस्तै, पीडितमाथि क्षतिपूर्तिका सम्बन्धमा कानुन बमोजिम हुने मन्त्रालय बताउँछ । ‘क्षतिपूर्तिका सम्बन्धमा कानुनमा व्यवस्था रहेछ भने कानुनबमोजिम नै हुन्छ, नभए सरकारले उचित प्रबन्ध गर्छ ।’ गृह प्रवक्ता बुढा भन्छन् । हड्तालमा निम्तिने सम्भावित दुर्घटना रोक्न सरकारले उचित सुरक्षा व्यवस्था अपनाएको मन्त्रालय बताउँछ । यसका लागि स्थानीय प्रशासनलाई पनि निर्देशन दिइएको मन्त्रालयको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष