म्यानमारमा बन्दी राजनीतिज्ञहरुको रिहाइको माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले माघ १९ गते म्यानमार (बर्मा)मा भएको सैनिक कु र राजनीतिज्ञको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै राजनीतिज्ञहरुको विना शर्त रिहाईको माग गरेको छ । २०७७ माघ २१ गते पोखरामा सम्पन्न शान्ति समाजको केन्द्रीय कार्यसमिति बैठकले बर्मामा सैनिक शासनको शिघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको छ । बैठकले कोभिड–१९ कहरका कारण झण्डै १ बर्ष जनजीवन त्रस्त र अस्तव्यस्त भएतापनि अन्ततः खोपको विकास र आविष्कारले जनजीवन अझ सहज हुँदै जाने विश्वाससहित कोभिड–१९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नेपालमा असंवैधानिक तवरमा भएको प्रतिनिधिसभा विघटनलाई शान्ति समाजले अलोकतान्त्रिक एवं स्वेच्छाचारी भन्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकै कडी भएको हुँदा सो को विरोधमा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा २० जिल्लामा गोष्ठीहरु सम्पन्न गरिसकेको समाजले जनाएको छ । ‘असंवैधानिक तवरमा प्रतिनिधिसभा विघटन : लोकतन्त्रमाथि प्रहार’ भन्ने मूल नारासहित शान्ति समाजको २३ औ राष्ट्रिय परिषद् बैठक २०७७ फागुन २१ र २२ मा कास्की शाखाको आतिथेयमा पोखरामा आयोजना हुने भएको छ । कास्की शाखा सभापति अमृत सुवर्णकारको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।
प्रतिक्रिया